गोरखा- तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी दुर्गम गाउँ छेकम्पारबाट पन्ध्रवर्षे एक किशोरीको उद्धार गरिएको छ । मकवानपुर जिल्ला सरिखेत–९ की सपना थिङलाई छेकम्पारको नोर्गे लामाको घरबाट तीन दिनअघि उद्धार गरी गोरखा सदरमुकाम ल्याइएको छ ।
काठमाडौँको सडकबाट पाँच वर्षअघि थिङलाई नोर्गे लामाले छेकम्पार पु¥याएका थिए । त्यसबेला थिङको बाबुको मृत्यु भएको, आमा अर्कैसँग हिँडेपछि थिङ काठमाडौँको सडकमा भौँतारिएर हिँडेकी थिइन् ।
जिल्ला बालकल्याण समितिको समन्वयमा किड्स साङ्ग्रिला होम र प्लानेट इन्फ्यान्ट्स नामक गैरसरकारी संस्थाले थिङको उद्धार गरेका हुन् । सीमा प्रहरी कार्यालय छेकम्पारको सहयोगमा जिल्ला बालकल्याण अधिकृत कमल श्रेष्ठ, साङ्ग्रिला होमका सहायक निर्देशक दिनेश भण्डारी र थिङका दाजु सवीरले छेकम्पार पुगेर उद्धार गरी सदरमुकाम ल्याएका छन् ।
थिङले भनिन्–“मैले घाँस, दाउरा काट्नुपथ्र्यो, हिउँमा काम गर्नुपथ्र्यो, याक चराउन जङ्गल जानुपथ्र्यो । ”साथै थिङलाई सहायक प्रजिअ दीपेन्द्र पौडेल, महिला तथा बालबालिका कार्यालयका अधिकृत सीता अधिकारी, दाजु सवीर र जिल्लाका पत्रकारको रोहबरमा साङ्ग्रिला होमलाई आवासीय सुविधासहित पढाउन आज जिम्मा लगाइएको छ ।
हस्तान्तरण कार्यक्रममा सप्रजिअ पौडेलले एउटी बालिकाको संवेदनशीलता बुझेर पढाउन र रेखदेख गर्न संस्थालाई आग्रह गर्नुभयो । साङ्ग्रिलाले थिङलाई पढाउने जनाएको छ ।