गोरखा- साम्दोमा भएको हेलिकोप्टर दुर्घटनामा परेका नारायणप्रसाद आचार्यले आफूहरुले दोस्रो जुनी पाएको बताएकाछन् ।गोरखाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेकोथियो ।
हेलिकोप्टरमा आगो लागे पनि त्यसमा सवार सबै पाँचैजना सकुशल छन् ।हेलिकोप्टरमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले चालकले ठाउँ नचिन्दा हेलिकप्टर दुर्घटना भएको बताए ।
सामागाउँ बजारमा अवतरण गर्नुपर्ने हेलिकप्टर साम्दो गाउँ नजिकै भिरालो चौरमा अवतरण भएपछि पुनः सामागाउँतर्फ उडाउने क्रममा अनियन्त्रित भएर पल्टिएको थियो । ‘उड्ने बेला भएको थियो । हेलिकप्टर हल्लियो र पल्टियो । एउटा पङ्खा भाँच्चियो । धुवाँ पुत्पुताउन सुरु भयो’ उनले भने-क्याप्टेनले ढोका खोल्न भ्याउनुभयो र बाँचियो ।
’हेलिकप्टरभित्र चालक सुरेन्द्र पौडेलसहित खानेपानी कार्यालयका प्रमुख आचार्य, आइएमसी संस्थाका कर्मचारीहरु अमल तुलाधर, विश्व श्रेष्ठ र सौरवराज क्षेत्री थिए ।हेलिकोप्टरमा रहेकाहरू बाहिर निस्किएपछि आगो लाग्यो । तर, निभाउन सकिएन । हेलिकप्टरभित्रबाट निसास्सिएर बाहिर निस्केकाले आगो निभाउनेतर्फ कसैले ध्यान दिनै नसकेको आचार्यले बताए ।
उनले राष्ट्रिय समाचार समितिसँग भनेका छन्-‘नजिकै पानीका स्रोतहरु थिएनन् । हेर्दाहेर्दै हेलिकप्टर जल्यो । एक सेकेन्डले बाँचियो । दोस्रो जुनी पाएँ ।’उनका अनुसार चालक पौडेलको गोडामा सामान्य चोट लागेको छ ।
मनाङ एअरको हेलिकप्टरले चालक पौडेलसहित पाँचजनालाई उद्धार गरेको छ । आचार्यलाई गोरखास्थित नाम्जाली डाँडामा र अन्यलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो ।