गाेरखा– जिल्लामा यस वर्ष अलैँची खेत गर्ने किसानको संख्या बढेको छ । नगदेवाली अलैँचीको गत वर्षको तुलनामा यस वर्ष आठ गुणा बढी क्षेत्रफलमा किसानले अलैँची खेती सुरु गरेका हुन ।
गत वर्ष तीन देखि पाँच हेक्टर क्षेत्रफलमा अलैँची रोपेका किसानले यसवर्ष १५ हेक्टर क्षेत्रफलमा विस्तार गरेका हुन ।
खासगरी जिल्लाको हंसपुर, थालाजुंग र खरिबोट गाविसमा धेरै क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । त्यस्तै केराबारी, बारपाक, लाप्राक, सौरपानी, सिमजुंग लगायतका गाविसहरु भर्खर भर्खर व्यवसायिक रुपमा खेती विस्तार भएका गाविसहरु हुन् ।
‘किसानहरुले यसपाली अलैँचीको खेती गर्ने जग्गाको क्षेत्रफल बढाएका छन्’ जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले भने ‘हामीले सोचे भन्दा धेरै किसानहरु यसप्रति आकर्षित भएका छन् ।
गत वर्ष मुस्किलले पाँच हेक्टर क्षेत्रफलमा लगाइएको अलैँची खेती यसवर्ष एकैचोटी बढेर २० हेक्टर क्षेत्रफलमा पुगेको छ । आम्दानीको हिसाबले र जिल्लाका भच्चेक लगायतका क्षेत्रमा यसबाट मनग्य कमाउनेहरुबाट सिकेर पनि अरु किसानहरुले खेती सुरु गरेका छन् ।’
अलैँचीको विरुवा रोपेको दोस्रो वा तेस्रो वर्ष देखी फल दिन सुरु गर्छ । अलैँची गत वर्ष सुरुको समयमा प्रतिकिलो दुइहजार रुपैँयामा किनबेच भएको थियो । अहिले पुरानो अलैची प्रतिकिलो तीनहजार रुपैँयामा किनबेच भईरहेको अलैँचीकोकारोबार गर्दै आएका व्यापारी गणेश दुवाडीले जानकारी दिए ।
भूकम्पले घरबार विहिन भएकाहरु र अलैँचीबाट उब्जनी दिने जग्गाभएका किसानहरुले यसवर्ष खेतीको क्षेत्रफल बढाएको छन् । भूकम्पको कारणले घर भत्केकाहरुले रोपाइँ गर्ने समयमा अस्थायी आवासहरु निर्माणमा लाग्नुपरेकोले पनि यस वर्ष धानखेती घटाएर किसानहरुले अलैँची खेती बढाएका छन् ।
गोरखाका विभिन्न भागमा सबै भन्दा धेरै रामसाई र गोल्साई जातका अलैँचीको ब्यवसायिक रुपमा लगाइने गरेको जिल्ला कृषि विकास कार्यालयका तथ्यांक छ ।
यस वर्ष जिल्ला कृषि विकास कार्यालयले स्थानीय किसानको नर्सरीमा उत्पादन भएका अलैँचीका डेढलाख वटा विरुवा प्रतिविरुपा पाँच रुपँैयाको दरले विक्रि वितरण गरेको थियो । अलैँचीको विरुवा प्रतिहेक्टर १० हजार वटा विरुवा लगाउन सकिने पनि बरिष्ठ कृषि विकास अधिकृत तीर्थ कुमार श्रेष्ठले बताए ।