अव त गोरखाली हुँ भन्न पनि लाज लाग्ने भै सक्यो । नीति नियम ब बसाल्ने राम शाहको नाम लिउँ भने कुनै नीति निर्देशन हुन सकिएन । आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाहको नाम लिउँ भने वीरताको आभास सम्म पनि आफुमा हुन सकेन ।
तर म जन्मेको गोरखामा नै हो ।
गोरखाको उत्तर पश्चिमको कुनामा लमजुङको साधमा दुधपोखरीको छायाँमा खरीबोट भन्ज्याङ भन्ने गाउँमा । हाम्रा दशौँ पुस्ता भन्दा अघिका बाबु बाजेहरु मंगोल राज्यको दवाब सहन नसकेर हो या किन हो गडवा कुमाउ जुम्ला इत्यादि हिमाली भेक हुँदै लम्जुङको बिचौर भन्ने दक्षिण पश्चिम मोहडा भएको उकालो पाखामा आएर बसेछन् ।
र त्यहा बस्दा चेपे खोला जस्ले गोरखा र लम्जुङ्गको साँध छुट्टयाउछ पारी पट्टि अग्ला अग्ला तीनवटा टार टारी खोला भएको र सिधा पश्चिम फकेर्को उत्तर दक्षिण राजा बाजा फुकेको रमणय पहाड भेक देखेछ र बस्नै पर्छ भने यस्तो ठाउँमा बसुँ ।
गाउँ बेसीको दुरी धेरै भएको औला लाग्छ कि भनेर डराउनै नपर्ने पाखो खेती धानखेती नजिक नजिकै भएको ठाउँ कहाँ पाउनु त्यसैले पारी तरी टारको डिलमा बसेर गाउँका गुरुङ्गहरुलाई बिस्तार बिस्तार माथि सर्न लगाएर भन्जयाङ्ग गाउँ कब्जा गरेछन् भन्नुपर्यो ।
जहाँ हाम्रो भन्दा माथि बाहुन गाउँ नै छैन । तापनि एउटा गुरुङ्ग परिवारले गाउँ छोड्न घडेरी बेच्न मानेछन् । र तिनको सबैभन्दा उम्दा घडेरी अझै पनि त्यही गाउँको माझमा छ । भन्ज्याङ्ग गाउँलाई दुर्गम क्षेत्रमा परेको भने हुन्छ । किन भने त्यसभन्दा माथि गतिलो बस्ती नै छैन । भए पनि दुई चार वटा गुरुङ्ग तामाङहरुको साना साना गाउँ मात्र छन् ।
अनकन्टार खोँचमा रहेको त्यस गाउँ माथि पाखो खेती गर्ने ठाउँ छ । अनि बस्तिको नजिकै हुनाले खिहिदै गएको बन बुटा भएको घाँस दाउरा गर्ने पाखो छ । अनि घना जङ्गल माडि र हिमरेखा हिमचुली यही नै पर्छ जहाँ दुध पोखरी छ । त्यहाँ चेवन ऋषि तपस्या गर्थे रे । बाङ्गे ओढार भन्ने ओढारमा बास गरे र दुध पोखरीको निकास चम्पावती चेपे हो अर्थात चम्पावतीको मुहान दुध पोखरी हो ।
मैले गोसाँइ कुण्ड जाने सौभाग्य अझ सम्म पनि पाएको छैन । तर टेलिभिजनमा हेरेको तस्वीर हेरेर यति भन्न सकिन्छ कि दुध पोखरी पनि त्यस्तै हो । जहाँ जान खाली बाटो बढी भयानक एवं खतरापूर्ण त्यहाँ जाने दुईवटा बाटाहरु छन् पुग्ने बेला । बाङ्गे ओढार भएर अलि लामो तर केही सजिलो र अर्को चाहिँ खहरे भएर छोटो तर ठाडै उकालो छ ।
म करिव आठ दस वर्षको छँदा यही बाटोभई जनै पूर्णिमा दिन दुध पोखरीमा नुहाउन गएको थिएँ । हाम्रै परिवारका धेरै जना थियौँ । सबभन्दा कान्छो म नै थिएँ जस्तो लाग्छ । हाम्रो तेस्रो बास यही खहरेको पुछारतिर एक ओढारमा पर्यो । त्यहाँ दाल भात पकाएर खाने भन्ने त कुरै भएन तर धोती फर्न नपर्ने घरबाट लगेका चिउरा रोटी यसै खाएर सुतियो बख्खुमा घुसे्रर ।
सुत्दा काम्दै तलढुङ्गा मुनिबाट सानो खोल्सो छ्याङछ्याङ बगेको त्यही थियो रेचम्पावतीको सिरान । दुध पोखरीको निथ्रेको पानी नुहाउन बेलैमा पुग्ने हुनाले उठ्ने बित्तिकै उकालो लागियो ।
खहरे भिरमा हिड्न बढो होस गरेर हिड्नु पर्दो रहेछ । एउटा मात्र पनि सानो ढुङ्गा खुस्कीयो भने त्यसले अर्को र अर्कालाई धकेल्दै अलिकति तल पुग्दा त पैरो गए जस्तो भएर आफु भन्दा पछि आउने बटुवालाई साह्रै अप्ठेरो पर्दो रहेछ । त्यहाँ जति उकालो लाग्यो उति लेक लाग्ने रहेछ । मैले बुझेसम्म लेक लाग्ने भनेको उचाईको असर बाहेक त्यहाँ वरिपरि विभिन्न झारपात जडीबुटीहरुको गन्धले मतमताउने र कपाल टन्कने हुँदो रहेछ ।
त्यस असरबाट बच्न सके सास केही रोकेर वा बढो सुस्त सास फेरेर केह फट्का उक्ले पछि तेर्सईएको वा फराकिलो ढुङ्गामा उभिएर तन तन माडी तिर फर्केर लामो सास लिने र हिड्ने गर्नु पर्दो रहेछ । मलाई लेक लागेन हाम्रो परिवारका एक दुई जनालाई नराम्रोसँग लागेछ । एक जनालाई त फर्कदाँ बोकाएर ल्याउनु पनि पर्यो ।
खहरेको बाटो भएर जाने उकालो सकिने बेला एउटा ओढार परेको ठाउँमा लाम्चो ढुङ्गो तेस्र्याइएको धरापिलो ठाउँ रहेङ्गो तेस्र्याइएको धरापिलो ठाउँ रहेछ । त्यसलाई धर्म गौडो भन्दा रहेछन् ।
अर्थात पापी भए त्यो गौडो पार गर्न सक्दैनन् रे हुन पनि धर्मात्म वा पापी जे भए पनि तेस्र्याइएको ढुङ्गाबाट चिप्लिन पुग्यो भने छाङ्गो र गहिरो खोल्सो ढुंढुरमा तल कता हो कता बेपत्ताइने रहेछ ।
कति त बाटो साह्रै अप्ठेरो भएर कति त धर्म पापको त्रासले पनि झन तसएको भएर त्यो गौडो तरे पनि सबैले ठूलो खड्को काटेको लामु सास फेर्दा रहेछन् । फर्किदा पनि सबैको गति त्यही हो । तर फर्किदा चाहि दुध पोखरीमा नुहाइसकेर धर्म बटुलेको भएर फर्केको हुँदा त्यतिको मानसिक त्रास भए जस्तो लागेन ।
दुध पोखरीलाई गोसाँई कुण्ड रारादह मानसरोवर र ताल इन्यादि जस्तो कुण्ड दह ताल सरोवर नभनेर पोखरी भन्नमा सम्भवतः यसको आकार र वनावटले गर्दा त्यसो भनेको हुन सक्छ । दुध पोखरी फराकिलो नभए पनि गहिरो भने प्रसस्त थियो । सम्भवतः यो कुनै सानो ज्यालामुखीले छोडेको अथवा पर्वत श्रृङ्खलाको बनोट गहिरो खाल्टोमा हिउँ पग्लेर जम्मा भएको हुन सक्छ ।
यसलाई पूर्व र उत्तर तिर निकै अग्ला अग्ला चुचुरोले छेकोको भए पनि दक्षिण र पश्चिम तिर त्यति अग्ला चुचुरोले छेकेको छैन । यो १२ हजार फिटमा छ । तिखा तिखा चुचुराहरु मध्ये उत्तर तिर केही वर्ष पहिले एकदुई जना साहसी नौजवानले उक्लेर पारी पट्टि हेरेर हिउँ नै हिउँले पुरिएको ठूलो फाट देखेरे भन्ने सुनिन्छ ।
हामीहरु उकालो सकेर पोखरी किनारमा त पुगियो त्यहाँ साउनको महिनामा पनि असाध्यै जाडोले ठिहिर् याउँदो रहेछ । न्यानो लुगा त लगाईएको हो । तर आधुनिक तवरको हिउँमा लगाउने लुगा हामीसँग थिएन ।
त्यसैले कुनै सहयोगी भरियाहरुले नै झिजा मिजा खोजी आगो दन्काइदिए र त्यसैको रापमा झटपट लुगा फुकालेर चुर्लुम्म डुबुल्की मारी पाप भए पखालेर फेरी न्यानो घुस्रन पुगिहालियो ।
यति भनिहालुँ कि मलाई त्यसबेला आफ्ना पिताजी र ठूल्दाईको स्नेही आत्म भावकत्व सदैव जारी छँदे थियो । नुहाएर आ-आफ्नो जप पाठ सकेपछि त्यहाँ यति उति अल्मलिने सल्लाह पाइएन र कठाङ्ग्रिएका हात खोकीलामा घुसार्दै फर्कने पट्टिको तरखरमा लागियो ।
अहिले सम्झदाँ त्यहाँ एक दुई घण्टा बसेर सबैतिर राम्रोसित हेर्न पाएको भए हुने रहेछ जस्तो लाग्छ । तर अब त न शरीरले दिन्छ न अनुकुलनै पार्न सकिन्छ । मात्र सम्झना बाँकी छ । जे भए पनि हिमशिखरहरु रुख बुट्यान केही नभएको नाङ्गो तर सफा स्वच्छ केलाशमय पवित्र रमणीय स्थलमा केटा केटी अवस्थैमा पुगियो रमाइलै भयो ।
गाउँबाट कोल्टे फर्केर हेर्दा घाम झुल्कने बेला दुध पोखरीलाई घेरेर उभिएका हिमशिखरहरु जसको समुहलाई हिमालचुली भनिन्छ त्यो सुन टल्केको जस्तो बहुतै अविस्मरणीय रमाइयो दृष्य देखिन्छ । र घामको रापले होला सबैभन्दा अग्लो चुचुराबाट जो वाफ उढेर मधुर धुवाँको मुस्लो छरे जस्तो देखिन् ।
त्यसलाई त हामी शिवजीले होम् हालेको भन्थ्यौँ । यस्तो रमणीय ठाउँ पनि वर्षामा बादलले छोपेको बेला जहाँबाट दुध पोखरीको बीचबाट चेपे बगेको खोच हुन्छ । यो त अन्धकारमय भएर तेसा्रउने जस्तो देखिन्छ ।
यही दुध पोखरीको छायाँमा बाल्यकाल बिताइयो तर १२ वर्ष नपुग्दा नपुग्दा गाउँ छाडेर काठमाडौँमा आए पनि यदा कदा वर्ष १५ दिन छुट्टिमा गएर बसी फर्कदा ग्रामीण रसबसको मजा लुट्ने मौका पानए सकिएन ।
अहिले त्यो मेरी प्यारो भन्ज्याङ्ग सिद्धिचरणको ओलखढुङ्गा भन्दा केही बढी भएन । स्मृतिपटमा रहेको चित्र शब्द चित्रमा मात्र भने पनि उतार्न सकेपनि ठूलो काम हुने थियो । मानौँ साह्रै न सारहीन जीवनको चिन्हो छाडे मैले त्यहाँ ।
याे लेख गाेरखा चिनारीबाट साभार गरिएकाे हाे ।