गोरखा- जिल्लाकाे खोप्लाङ गाविस–४ की ३२ वर्षीय डल्ली जोगिनीको हत्यामा संलग्न रहेका सोही गाउँका ६८ वर्षीय जगन्नाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जोगिनीलाई विष खुवाएर हत्या गरेको २९ वर्ष दुई महिना नौ दिनपछि प्रहरीले अभियुक्त अधिकारीलाई शुक्रबार पक्राउ गरेको हो ।
गोरखा जिल्ला अदालतले २०५१ साल माघ २ गते जोगिनीको हत्यामा अधिकारी संलग्न रहेको भन्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो तर अधिकारी फरार रहँदै आएका थिए ।
आफ्नै छोरीको घरमा लुकेर बसेको अवस्थामा अधिकारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।अधिकारीलाई शुक्रबारै जिल्ला अदालत गोरखामा बुझाइएको छ ।
जोगिनीको हत्या गरेपछि अधिकारी भारतमा बस्दै आएको अनुसन्धानको क्रममा खुलेको र केही पहिले छोरीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।