ताकुकाेट- केही हप्ता अगाडी बाट नै ताकुकोटमा हुने न्वागी पर्वमा राष्ट्रिय स्तरका कलाकार तथा गायक गायिकाहरु आउने चर्चाले होला, माई भगवती मन्दिर प्राङ्गण साँझ नपर्दै भरिभराउ भइसकेको थियो ।
अघिल्लो दिनबाट नै मञ्च व्वस्थापनमा खटिएको समूहले सोही कुराको आंकलन गरेर नै मञ्च अगाडि महिला तथा बालबालिकाका र पुरुषहरुका लागि फरक फरक स्थानमा बसाईको व्यवस्थापन गरेको थियो ।
जसका लागि मन्दिरसँगै जोडिएको माइकोट माविको प्राङ्गणमा बाँस र डोरीको प्रयोग गरी बसाई व्यवस्थापन गरेको थियो । साँझ आठ देखि साँढे आठ बजे भित्र कार्यक्रम सुरुवात गर्ने योजना गरेको आयोजकले करिब १५ मिनेटको ढिलाईमा कार्यक्रमको ढोका खोल्यो ।
हजारौँको सङ्ख्यामा रहेका श्रद्धालु भक्तजन र दर्शकहरुको जोडदार तालीको गुञ्जाहट सँगै सुरु भएको कार्यक्रममा माई भगवती पूजा समितिका अध्यक्ष कृष्ण सुवेदी कार्यक्रमको सभापतिका रुपमा रहेका थिए । त्यसैगरी कार्यक्रममा ताकुकोट गाविसका गाविस सचिव गोपालकृष्ण सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए भने ताकुकोट गाविसका पूर्व सचिव तथा हाल जि.प्र.का. चितवनमा कार्यरत ताकू माझलाकुरीबोटमा स्थायी बासिन्दा हरीबाबु ढकाल विशेष अतिथिका रुपमा रहेका थिए ।
ताकुकोट र ताकू माझलाकुरीबोटमा सक्रिय विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रमुख तथा प्रतिनिधी, विभिन्न सङ्घसँस्थाका प्रतिनिधी, विद्यालयका प्रधानध्यापकहरु सहितको अतिथिको आसन ग्रहण पश्चात कार्यक्रममा आयोजक समितिका संयोजक बुद्धि बहादुर खत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
काठमाडौँमा बसेर पनि गाउँघरको माया गर्दै आफ्नो गाउँघरको प्रचारप्रसारका लागि कार्यक्रम आयोजना गरेको बताउँदै खत्रीले कार्यक्रममा सहयोग पु¥याउने तथा उपस्थित हुने सबैमा हार्दिक आभार सहित न्यानो स्वागत गरे । स्वागत मन्तव्य पश्चात ताकुकोट एकता समाजको नेतृत्वमा स्वागत गित सहित नृत्य प्रस्तुत भएको थियो ।
प्रमुख अतिथि गाविस सचिव गोपालकृष्ण सुवेदी र कार्यक्रमका सभापतिले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । त्यसपश्चात मन्तव्यका क्रममा ताकुकोट एकता समाजका अर्जुन कुमार सुवेदीले विगतका वर्षहरुमा जस्तै कार्यक्रमलाई निरन्तरता दिएकोमा आयोजक प्रति धन्यवाद सहित प्रत्येक वर्ष कार्यक्रम परिष्कृत हुँदै गएकोमा प्रसन्नता व्यक्त गरे ।
देशमा चलेको शसस्त्र द्वन्द पश्चात बन्द जस्तै हुन पुगेको कार्यक्रम गर्ने परिपाटी माईकोट माविमा उनकै नेतृत्वमा रहेको स्काउट मार्फत पुनः सञ्चालन हुन थालको स्मरण गर्दै सुवेदीले आगामी वर्षहरुबाट कार्यक्रमलाई महोत्सवको रुपमा विकास गर्नुपर्ने धारणा औँल्याए ।
ताकुकोट सेवा समाज काठमाडौँका उपाध्यक्ष एवम् आयोजक समितिका सदस्य समेत रहेका हरिश्चन्द्र भट्टले यस्ता कार्यक्रमले सिंगो गाउँको नै साख बढाएको भन्दै कार्यक्रम आयोजनका लागि काठमाडौँमा रहेको टिम र स्थानीयस्तरमा रहेको टिमले एक आपसमा मिलेर कार्यक्रम गरेकोले कार्यक्रमले बृहत रुप धारण गरेको धारणा व्यक्त गरे ।
त्यसपश्चात बोल्ने सबै अतिथिहरुले ताकुकोटमा नै यत्तिको स्तरको कार्यक्रम हुनुले सिंगो गाउँको नै नाम उच्च भएको भन्दै आगामी वर्षबाट न्वागी पर्वलाई ताकुकोट महोत्सवको रुपमा लैजान सुझाव दिए ।
राष्ट्रिय स्तरमा चर्चित कलाकार तथा गायक गायिकाहरुको प्रस्तुती हेर्नका लागि लालायित भएका दर्शकहरुको भावनालाई मध्य नजर राख्दै कार्यक्रम उद्घोषक केसीले कलाकार तथा गायक गायिकाहरुलाई स्टेजमा आमन्त्रण गर्दा सिंगो ताकुकोट नै तालीले गुञ्जायमान भएको आभाष हुन्थ्यो ।
माइकोट माविको साँस्कृतिक प्रस्तुती पछि ताकुकोटको छिमेकी गाविस पाँचखुवा देउराली स्थायी घर भएका गायक तथा आरजे÷भिजे सागर गुरुङले सांगितिक ढोका खोलेका थिए । उनले ट्याक्सी मोटरकार देखि रोधीघरमा गाइने भाका सम्मका गितले दर्शकलाई मोहनी नै लगाए । ढिलो गतिमा बोल्दै सागरले हिजोका दिनमा मोबाइल फोन नहुँदाको अवस्थामा केटाकेटी बीच हुने प्रेमलापको बारेमा चर्चा गर्दा यूवायूवतीहरु लठ्ठ परेका थिए ।
त्यसैगरी गोरखाली नवगायक हरिराम परियारले चर्चित लोकभाकाहरु गाउँदै दर्शकलाई तताएका थिए ।आफ्नो पालो कुरेर बसेकी गोरखा घ्याल्चोककी लोक तथा दोहोरी गायिका कोपिला गुरुङ स्टेजमा चढे लगत्तै दर्शकको चर्काे हुटिङ सुरु भएको थियो । सुन्दर रुपकी धनी कोपिलाको झनै सुन्दर आवाजले यूवायूवतीहरु मात्र होइन वयष्क तथा प्रौढहरु समेत लट्ठिएका थिए ।
कुशल नृत्याङ्गना समेत रहेकी कोपिलाले सहनाईको पेपे गाउँदै सम्पूर्ण दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन् ।कार्यक्रमको बीचबीचमा कार्यक्रम प्रस्तोताका रुपमा स्टेजमा उक्लेका म्युजिक भिडियो तथा नृत्य निर्देशक ताकुकोट १ स्थायी बासिन्दा प्रकाश भट्टले कलाकारहरुको उच्च प्रशंसा गर्दै ताकुकोटका बासिन्दाहरुको मनमा कलाकारहरु प्रति सम्मान जगाएका थिए ।
लामो समयदेखि हास्यकलाकारको प्रतिक्षामा रहेको दर्शकहरुलाई निराश नपारिकन अर्काे प्रस्तुतिका रुपमा बल्छिधु्रबे अर्थात ताकुकोेट १ का स्थायी बासिन्दा मरिचमान श्रेष्ठ स्टेजमा आइपुगेका थिए । सधैँ गाउँमा भाइ छोराका रुपमा देखिएका र टिभीको पर्दामा बल्छिध्रुबेको रुपमा देखिएका श्रेष्ठलाई देखेर आमदर्शक मात्र होइन उनकै आमा समेत चकित परेकी थिइन् ।
सुरुवातमा नै भुकम्प आउँदाको क्षण र त्यसपश्चातको दुखलाई हाँसोमा परिणत गर्दै भुकम्पले हल्लाएको बेलामा उनको आमाले नाचेको झै लागेको बताउँदै वर्षाै देखि आमाको नाच हेर्न पाएकोमा भुकम्पलाई धन्यवाद दिदा उनको आमा पनि आमदर्शक सँगै पेट मिचिमिचि हाँसेकी थिइन् ।
विगतमा दिनमा बोलचाल नै बन्द गरी पानी बाराबारको स्थितिमा पुगेका गाउँलेहरु भुकम्प पश्चात एकै ठाउँमा एउटै ओच्छ्यानमा मिलेर सुतेको उदाहरण दिँदै बल्छिले सबै देशबासी पनि यसरी नै मिल्नुपर्नेमा जोड दिए ।आफ्नै गाउँघर भएकाले गाउँघरमा हुने सबैजसो राम्रा नराम्रा कुराहरुको जानकार बल्छिले मौकाको फाइदा उठाउँदै तिनै कुराहरुमाथि तिखो व्यङ्ग्य कसेका थिए ।
झण्डै २० मिनेटको बल्छिको प्रस्तुती पश्चात स्टेजमा आएका राजु माष्टर अर्थात राजु पौडेल र बल्छि मिली कार्यक्रमलाई अझ रोमाञ्चक बनाएका थिए । कहिल्यै कक्षामा गएर नपढाउने राजु माष्टर कहिल्यै माछा नमार्ने बल्छिध्रुबेले कार्यक्रमको कुनै पनि समय दर्शकलाई खाली बस्न दिएनन्, मात्र हसाँइरहे ।
कार्यक्रमको अन्त्यमा नेपाली हुनुमा गर्व गर्नुपर्ने भन्दै विदेशी सँस्कृतिको नक्कल नगर्न र एक आपसमा मिलेर बस्नु पर्ने सन्देश दिँदै बिदा भएको उक्त जोडीले कार्यक्रममा निकै नै वाहवाह बटुलेको थियो ।ताकुकोट ६ बाहाकोटमा स्थायी बासिन्दा गायक सञ्जय गुरुङ कार्यक्रमको अर्काे आकर्षणको रुपमा रहेका थिए ।
गीत गाउन कै लागि देश तथा विदेशका विभिन्न भागमा पुगेका पुगेका सञ्जयले रेलिमाई भाकाका साथै दरौँदीको पानीले लगायतका आफ्ना आधा दर्जन बढि गीत गाएका थिए । सञ्जय पश्चात कार्यक्रमको दर्शकहरुले प्रतिक्षा गरिरहेका गायिका सम्झना लामिछाने मगर स्टेजमा उक्लदाँ झण्डै रातको २ बजीसकेको थियो ।
सम्झनाले पनि घरमा पराल बारीमा बन्सो देखि लिएर अहिलेको चर्चित भाका फुल फुले पहेँलै भयो, बनैमा फुल बसायो लगायतका आधा दर्जन गीत गाएकी थिइन् । दर्शकलाई नचाउन र आफ्ना गीतमा झुमाउन माहिर सम्झनाले ताकुकोटमा पनि दर्शकहरुको राम्रो साथ पाइन् ।
ढल्दो रात र बढ्दो निन्द्राका बाबजुदपनि दर्शकहरु उनी सँग गाउन र नाच्न स्टेजमा नै पुग्दा कार्यक्रमका स्वयम्सेवकहरुलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो ।गायिका सम्झनाको प्रस्तुति अघि ताकुकोटका एक गहना कलाकार, नृत्य निर्देशक तथा झण्डै ३२०० म्युजिक भिडियोको निर्देशन गरिसकेका ताकुकोट १ भट्टगाउँका प्रकाश भट्ट लाई सम्मान समेत गरिएको थियो ।
कलाकारिताकै कारण देश तथा विदेशमा ताकुकोटको नाम उच्च राख्न सफल भट्टले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरिसकेका छन् । कार्यक्रमका प्रमुख अतिथी र कार्यक्रम सयोजकले संयुक्त रुपमा दोसल्ला ओढाएर भट्टलाइ सम्मान गरेका हुन् ।साँस्कृतिक कार्यक्रमको बीच बीचमा विभिन्न विद्यालय तथा क्लबहरुका स्थानीय कलाकारहरु द्वारा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम मूल आयोजक समितिका संयोजक बुद्धि बहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमका सभापति कृष्ण सुवेदीले रातको कार्यक्रम समापन भएको घोषणा गर्दै पुनः दिउँसो हुने कार्यक्रममा सबैलाई आमन्त्रण गर्दा बिहानको झण्डै ४ बजिसकेको थियो ।