गोरखा- दिगो विकास लक्ष्य प्राप्तिको लागी एड्स महामारीको अन्त्य भन्ने नाराका साथ २८ औं विश्व एड्स दिवस गोरखामा पनि विविध कार्र्यक्रम गरि मनाईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा विश्वमा हालसम्म भएको एचआइभी एड्स संक्रमितहरुको अवस्था, नेपालमा र गोरखाको सन्दर्भमा एचआइभी संक्रमितहरुको अवस्थाको विषयमा जानकारी गराइएको थियो ।
नेपालमा संक्रमितहरुको संख्या सन् २०१४ को अन्त्यसम्मा ३९ हजार २४९ रहेको थियो भने हालसम्म झण्डै ४० हजार मानीस एचआइभी संक्रमित भएको अनुमान गरिएको छ ।
गोरखामा २०७२ असार मसान्तसम्म १७५ जना संक्रमित छन् जसमा १६ जना वालवालीका रहेका छन् । संक्रमित मध्य १२४ जनाले निशुल्कः रुपमा एआरभी उपचार लिइरहेका छन त्यस्तै संक्रमित वालवालीकालाई शिक्षा, स्वास्थ्य र पोषण प्रयोजनका लागी मासिक १ हजार प्रदान गरिंदै आएको छ । संक्रमितको संख्या २०६९/७० मा २२ जना र २०७०/७१ मा ३३ जना रहेको थियो ।
गोरखा जिल्लामा एचआईभी संक्रमितहरुको लागी एचआईभी परिक्षण केन्द्र ४ वटा स्वास्थ्य संस्था स्थापना गरिएको र गोरखा जिल्ला अस्पतालबाट एआरभी उपचार सेवा लिइरहेका छन् । त्यस्तै आमाबाट वच्चामा एचआइभी संक्रमण रोकथामका (पिएमटिसिटी) गर्नका लागी ३ वटा सेवा केन्द्र संचालनमा रहेको छ ।
एचआइभी र एड्स सम्बन्धि प्रभावकारी रोकथाम, हेरचाह,सहयोग तथा उपचार सेवाको लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै सन् १९९८ देखि प्रत्यक वर्षको डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाउने गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय गोेरखाको आयोजनामा भएको कार्याक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीको अध्यक्षता तथा पत्रकार महासंघ गोरखका अध्यक्ष भिमलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।