गोरखा- हिन्दु धर्मालम्बीहरुको मुख्य ग्रन्थको रुपमा रहेको महाभारतमा पाँच पाण्डवहरुकी एउटी श्रीमती द्रौपदी भएको त सबैलाई थाहा नै छ । त्यो त भयो सत्य युगको कुरा ।
अहिलेको समयमा पनि एक महिलाका यस्तै धेरै पतिहरु छन् भन्दा तपाईँ हामीलाई अचम्म त लाग्छ नै । अझ हाम्रै गोरखामा त्यस्तो प्रथा हाल सम्म पनि कायमै छ भन्दा हामीलाई पत्याउन पनि गाह्रो पर्छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा उत्तरी गोरखाका केही बस्तीहरुमा अझैपनि बहुपति प्रथा कायमै रहेको कुरा बाहिर आएपछि सरोकारवाला निकायहरुले यो पनि एक प्रकारको महिला हिंसा नै भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
महिला तथा बालबालिका केन्द्र गोरखाले आयोजना गरेको ‘लैङ्गिक हिंसा न्युनीकरणका लागि सरोकार वालाहरुको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष तथा कार्यक्रमको सभापति सम्झना देबकोटाले गोरखाको छेकम्पार, चुन्चेत र बिही गा.बि.स.मा अझै बहु पति प्रथा रहेको जानकारी गराएकी हुन् ।
देवकोटाले बहुपति प्रथापनि एक प्रकारको महिला हिंसा भन्दै यो प्रथा हटाउनका लागि सबै सरोकारवाला निकायहरुले चासो दिनु पर्ने बताइन् ।
कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौड्यालले महिला तथा लैङ्गिक हिंसा नघटेको अधिकांश तथ्याङ्गहरुले देखाएको भन्दै हामी आफैले लैङ्गिक हिंसा घटाउन लाग्नु पर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै पौड्यालले महिला हिंसाको प्रमुख कारण नै हाल सम्म छोरा र छोरी बीचको भेदभाव घटाउन नसक्नु रहेको भन्दै छोरा र छोरीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने धारणा राखे ।
‘समाजमा जो परिचित छ त्यसैको छिमेकमा महिला हिंसा भएको घटनाले पनि के देखाउँछ भने हामीले आफ्नै छिमेकीहरुलाई पनि बुझाउन सकेका छैनौँ’ पौड्यालको भनाई छ ।
पौड्यालले विगतको तुलनामा हाल महिला हिंसाको उजुरी बढेको पनि जानकारी दिए ।स्थानीय विकास अधिकारी प्रेमराज गिरीले अहिले गाँउकोे जुन सुकै कुनामा बसेर पनि आफु विरुद्ध भएको हिसाको विरोध गर्न सकिने भन्दै हिंसाको उजुरी दिन पिडितहरुलाई आग्रह गरे ।
अझै पनि धेरै समाजमा महिलालाई कुनैपनि सामाजिक कार्यमा सहभागी गराउने कार्य अत्यन्तै न्युन रहेको भन्दै गिरीले महिलाहरुलाई सबैस्थानमा समान अवसर दिए महिला हिंसामा कमि आउने धारणा राखे ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव कृष्ण नेपाली, रा.प्र.पा. नेपालका जिल्ला उपाध्यक्ष शंकर अधिकारी, संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष सुकदेब तामाङ्ग लगायतको उपस्थिती रहेको थियो ।