काठमाडौँ- लामो समय देखि आन्दोलनमा लागिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सघाइ रहेको राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले आजबाट मधेसी मोर्चाको साथ छोडेको छ ।
आज एक पत्रकार सम्मेलन मार्फत विज्ञप्ती जारी गरी गठबन्धनले मोर्चाबाट अलग्गिएको घोषणा गरेको छ । राष्ट्रिय स्वाधीनतामा आँच आउनेगरी मोर्चाले गतिविधि गरेको भन्दै गठबन्धनले अलग भएको घोषणा गरेको हो ।
गत भदौ ३ गतेदेखि मधेसी मोर्चासँग मिलेर मुस्लिम गठन्धन आन्दोलनमा सहभागी हुँदै आएको थियो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गठबन्धन संयोजक तथा तमलोपाका केन्द्रीय सदस्य शमिम मियाँ अन्सारीले अब गठबन्धनले छुट्टै आन्दोलन गर्ने जानकारी दिए ।
गठबन्धनले मधेसी मोर्चाका नेताहरुको दिल्ली भ्रमणको पनि विरोध गरेको छ । साथै आफुहरुको मधेसी मुद्दामा मधेसी मोर्चाले छलफल नै नगरी एकतर्फि निर्णय लाद्ने गरेको गठबन्धन संयोजक अन्सारी र महासचिव मोहम्मद जाकिर हुसैनले हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।