गोरखा – सधैँ टेलिभिजनको पर्दामा फुर्लङ बोकेर माछा नै नभएको ठाउँमा समेत माछा मार्दै दर्शकलाई पेट मिचिमिची हसाउँदै आएका बल्छीध्रुबे अर्थात मरिचमान श्रेष्ठको नयाँ परिचय थपिएको छ ।
हास्यकलाकारको रुपमा परिचित बल्छीको स्वरमा सजिएको ‘टाढा छैनौँ जस्तो लाग्छ’ बोलको गीत बजारमा आएसंगै बल्छीको गायकको रुपमा नयाँ परिचय थपिएको हो ।
गोरखा जिल्लाको सुन्दर बस्ती ताकुकोट १ कोटथोकमा जन्मिएका बल्छीले रमेशराज भट्टराईको शब्द र संगीतमा भर्खरै गीत बजारमा ल्याएका हुन् ।
बल्छीले गोरखा नै स्थायी घर भएका गुरु चन्दनलाल श्रेष्ठ सँग ५ वर्ष संगीत सिकेका हुन् ।आफुलाई सानै देखिबाट कलाकारिताका साथसाथै गीतसंगीतको पनि रुचि भएको बताउँदै बल्छीले आफ्नो गीत बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए ।
आगामी दिनमा पनि कलाकारिता (अभिनय) र गीत संगीतलाई एक साथ अगाडी बढाउने बताउँदै बल्छीले आफ्नो अर्काे गीत निकाल्ने तयारी भइरहेकोे जानकारी दिए ।बल्छीको ‘टाढा छैनौँ जस्तो लाग्छ’ गीतको म्युजिक भिडियो समेत तयार भइसकेको छ ।
जसमा बिमल अधिकारी र श्री पाण्डेको अभिनय रहेको छ भने कपिल लामाको निर्देशन रहेको छ ।