गोरखा – नेपाली राजनीतिमा अहिले देशभर चर्चाको मुख्य विषय बनिरहेको नयाँ शक्ति अभियानको गोरखामा औपचारिक उद्घाटन भएको छ ।
‘नयाँ शक्ति अभियानमा सहभागि बनौँ, स्वाधिन समृद्ध र समावेशी नयाँ नेपाल निर्माण गरौँ’ भन्ने नाराका साथ नयाँ शक्ति अभियान बुधबार गोरखामा औपचारिक रुपमा उद्घाटन भएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता डा.बाबुराम भट्टराईले एकिकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति अभियानमा जुटेका थिए ।
बुधबार नयाँ शक्ति अभियानका नेता देवेन्द्र पौडेलको उपस्थितिमा गोरखामा नयाँ शक्ति अभियान गोरखाको गठन भएको छ । नयाँ शक्तिको गोरखा संयोजकमा रमेश पोखरेल रहेका छन् ।
बुधबार गोरखामा आयोजित एक कार्यक्रमका बीच नयाँ शक्तिको गठन भएको हो ।
कार्यक्रममा बोल्दै नेता पौडेलले अब खोक्रा र फुस्रा शब्दजालले क्रान्तिकारी नभइने भन्दै जनतालाई यथार्थ कुरा बुझाउनु पर्ने समय आएको बताए । ‘अब देशमा कम्युनिष्ट नामले मात्र पार्टी चल्दैन, काम गरेमात्र पार्टी चल्छ’ पौडेलले भने ।
उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले अहिलेको हाम्रो देश भनेको ६० बर्षको अबधिमा सबै भन्दा पछाडि परेको भन्दै देशलाई नयाँ रुप दिन र नयाँ मोडमा दौडाउनको लागि नयाँ शक्तिको आवश्यकता परेको औँल्याए ।
कार्यक्रममा बोल्दै पौडेलले अहिलेको सरकारले देशमा मौलाएको काला बजारी तथा भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेको भन्दै सरकारको तिब्र आलोचना गरे । अहिले सरकारको कारणबाट कुनै पनि छिमेकी देशमा संगको सम्बन्ध राम्रो नभएको भन्दै सम्बन्ध सुधारमा लाग्नु पर्ने समय भएको उनको भनाई थियो ।
कार्यक्रमा बोल्दै देबेन्द्र पराजुलीले एकिकृत नेकपा माओवादी पेरिसडाडाले गरेको जस्तो साईकल चढ्ने खोक्रो राष्ट्रवादले अब काम नगर्ने भन्दै पुर्व निर्धारित विचार नभई बिश्व दृष्टिकोण आवश्यक परेको पनि बताए । आफुहरुले गल्ति गरि सकेको स्वीकार्दै उनले अब गल्ति नगर्ने प्रतिबद्धता जाहेर गर्नु पर्ने पनि बताए ।
भेलाका अधिकांश सहभागी गोरखा घर भई हाल रोजगारीको सिलसिलामा काठमाण्डौं लगायत बिभिन्न शहरमा बसोबास गर्दै आएकाहरु थिए ।
त्यस्तै गाउँ–गाउँबाट पनि भेलामा भाग लिन मानिसहरु आए । कार्यक्रममा ज्ञानेन्द्र कुमाल, यानप्रसाद भट्ट, देवेन्द्र पराजुली लगायतले मन्तब्य ब्यक्त गरे ।