गोरखा– ताकुकोट गाविसको शैक्षिक धरोहरको रुपमा रहेको सूर्यज्योति उच्च माविको ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित चलिरहेको छ ।
वार्षिकोत्सवको पहिलो दिन बिहिबार विविध कार्यक्रम सहित अन्तरविद्यालयस्तरीय तथा आन्तरिक रुपमा अन्तरसदनात्मक विविध खेलकुद हरु समेत सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर बरामको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नल प्रसाद सुवेदीको प्रमुख आतिथ्य रहेको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष राम बहादुर सुवेदीको विशेष उपस्थिति रहेको थियो ।
बिहिबार भएको अन्तर विद्यालय स्तरीय मावि तहको हाजिरिजवाफ प्रतियोगितामा माइकोट मावि प्रथम भएको छ । त्यसै गरी आयोजक सूर्यज्योति उच्च मावि द्वितीय तथा जलकन्या माविले तृतीय स्थान हासिल गरेको छ ।
त्यसैगरी प्राथमिक तहस्तरीय (कक्षा ४–५) को अंग्रेजी पजल गेम छात्र तर्फ आयोजक सूर्यज्योतिका रोजित थापा प्रथम, मनासलु प्राविका रिजन गुरुङ द्वितीय तथा माइकोट माविका हिरालाल उपरकोटी तृतीय भएका छन् । त्यसैगरी छात्रा तर्फ सूर्यज्योतिकी सरुना भट्ट प्रथम भइन् भने माइकोटकी निशा थापा द्वितीय भइन् ।
त्यसैगरी प्राथमिक तह स्तरीय (कक्षा १–३) को बेलुन फुटाइमा छात्र तर्फ मनासलु प्राविका आयुष गुरुङ प्रथम, सूर्यज्योतिका अनुज राना द्वितीय तथा धर्मावती प्राविका सुदिप बराइली तृतीय भएका छन् । त्यसैगरी छात्रा तर्फ धर्मावतीकी सदिक्षा अधिकारी, माइकोटकी सुनिता सुनार र देउराली प्राविकी रोजिता बिक क्रमश प्रथम, द्वितीय तथा तृतीय भएका छन् ।
त्यसैगरी बिहिबार नै विद्यालयले आन्तरिक अन्तरसदनात्मक खेलहरु समेत सम्पन्न गरेको छ । जसमा प्राथमिक तहको तातो आलु, डोरी तान्ने, भाले जुधाई खेल भएको छ । त्यसैगरी मावि, उच्च मावि तहको छात्रछात्रा लङजम्प, छात्र हाइजम्प लगायतका खेलहरु सम्पन्न भएको विद्यालयका शिक्षक बाबुराम नेपालीले जानकारी दिए ।
त्यसैगरी विद्यालयस्तरीय खुल्ला छात्रछात्राको लामो दौड समेत भएको छ ।यसअघि कार्यक्रमको उद्घाटनमा बोल्दै विद्यालयका प्राचार्य हरिराम दवाडीले विद्यालयमा हुने शैक्षिक गतिविधिका साथै अन्य अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा उजागर गर्ने हुँदा आफुहरुले सोही अनुसारको गतिविधि गरिरहेको बताए ।
प्रतियोगितामा विजयी हुनेहरुलाई बिहिबार नै कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर बराम र शिक्षक अभिभावक संघका अध्यक्ष राम बहादुर सुवेदीबाट पुरस्कार तथा प्रमाणपत्र वितरण भएको छ । वार्षिकोत्सव शुक्रबार सम्म चल्नेछ । शुक्रबार विविध सांस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सवको समापन गरिने शिक्षक बाबुराम नेपालीले जानकारी दिए ।