गोरखा- शैक्षिक धरोहरको रुपमा रहेको ताकुकोटको एक मात्र उच्च माविमा क्याम्पस खोल्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।
शुक्रबार विद्यालयको ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापनको अवसरमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय गोरखाका विद्यालय निरिक्षक कृष्ण प्रसाद सिग्देलले ताकुकोटको केन्द्रबिन्दुमा रहेको सूर्यज्योतिमा ताकुकोट र आसपासका गाविसहरुबाट प्रशस्त विद्यार्थीहरु आउन सक्ने सम्भावना देखाउँदै सो क्षेत्रमा क्याम्पस खोल्नुपर्ने आवश्यकता औँल्याए ।
बिहिबारबाट सुरु भएको वार्षिकोत्सव कार्यक्रमको दोस्रो तथा समापनको दिन शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर बरामको अध्यक्षता तथा विद्यालय निरिक्षक सिग्देलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अन्य वक्ताहरुले पनि ताकुकोटको एक मात्र उच्च माविमा क्याम्पस तहको कक्षा सञ्चालन भएमा स्थानीयस्तरका निम्न तथा मध्यम वर्गका विद्यार्थीहरुले उच्च शिक्षा पढ्न पाउने सुझाए ।
कार्यक्रममा माइकोट माविका प्रधानाध्यापक रमेश सुवेदी, माइकोट माविका पूर्व प्रअ निर्मल धिताल, अभिभावक तुल बहादुर गुरुङ, विद्यार्थी विनय लामिछाने लगायतले मन्तव्य राखेका थिए ।
यसअघि कार्यक्रममा विद्यालयका सहायक प्राचार्य इश्वर लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने प्राचार्य हरिराम दवाडीले विद्यालयको सम्पूर्ण विवरण झल्कने गरी वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य, प्रहसन, नाटक लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा शैक्षिक सत्र २०७१ मा कक्षागत रुपमा विभिन्न स्थान हासिल गरेका कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यसैगरी विद्यालयका पूर्व नेपाली विषय शिक्षक समेत रहेका शहिद गुणनिधि देवकोटाको स्मृतिमा स्थापना गरिएको शिक्षक गुणनिधि स्मृति पुरस्कार शैक्षिक सत्र २०७१ को एसएलसी परीक्षामा नेपाली विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने यम कुमार श्रेष्ठलाई प्रदान गरियो ।
साथै सोही वर्ष विद्यालयको इतिहासमा नै पहिलो पटक एसएलसीमा विशिष्ट श्रेणी ल्याउन सफल अनुभव श्रेष्ठलाई रु ५००० बराबरको पुरस्कार तथा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अथिति, सभापति र शिक्षक अभिभावक संघका अध्यक्ष राम बहादुर सुवेदीले संयुक्त रुपमा पुरस्कार वितरण गरेको विद्यालयका शिक्षक बाबुराम नेपालीले ताकुकोटबाट जानकारी दिए ।