गाेरखा- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो कार्यकालभरि भएका गल्तीप्रति क्षमा याचना गर्दै आगामि दिनमा पार्टीलाई एकढिक्का बनाएर लाने प्रतिवद्धता जनाएका छन् ।
आउँदो महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने शब्द उच्चारण नगरे पनि उनले यसअघिका गल्तीमा क्षमा माग्दै पार्टीलाई एकढिक्का बनाएर लैजान सहयोग गर्न अनुरोध गरे ।
‘मेरो कार्यकालमा पार्टीभित्र घात अन्तरघात भए पनि देशको मुलुकको पहिलो पार्टी बनाउन सफल भयौं’ गोरखाको वीपी गणेशमान स्मृति भवन(पार्टी कार्यालय)को सोमबार उद्घाटन गर्दै उनले भने ‘मैले कुनै गल्ती गरें भने भन्नुस् । म क्षमा माग्छु । अबको दिनमा पार्टी एकढिक्का बनाएर अघि बढाउनु पर्छ ।’
उनले आधाघण्टा मन्तब्य राख्ने क्रममा गल्ती गरेको भए भन्न तीन पटकसम्म कार्यकर्ताहरु लाई आग्रह गरेका थिए । को कुन नेताको मान्छे भनेर नभई सबै जना कांग्रेसको मान्छे भएर अघि बढ्न उनले सुझाव दिए ।
‘मैले गुटबन्दी गरेको भए भन्नुस्’ उनले भने ‘म पनि गर्दिन । तपाइँ पनि नगर्नुस् । कांग्रेस हाम्रो घर हो । हामी कांग्रेसका मान्छे हौं ।’ उनले खुट्टा तान्ने प्रवृत्तिले देश विकास हुन नसकेको दाबी गरे ।‘म प्रधानमन्त्री हुँदा पुन निर्माणको काम सुरु गर्न खोजेको थिएँ’ उनले भने ‘तर दिइएन । यो काम यो प्रधानमन्त्री भएको बेला सम्पन्न भयो भने उसलाई जस जान्छ भनेर बाधा ब्यबधान गरिन्छ ।
यो प्रवृत्तिले देश विकास हुदैन ।’ उनले व्यक्तिवादी कुरा त्यागी देश नडुबाउन समेत सबैमा सुझाब दिए ।