खरिबाेट– बैशाक १२ को भूकम्पबाट पूर्ण रूपमा घरबार विहीन भएका पीडितहरूलाई जारी गरिएको रातो कार्ड वितरणमा अनियमितता भएको पाइएको छ ।
भारत मोतीहारी घर भई हाल गोरखाको खरिवोटमा जेरी पुरीको पसल गर्दै आएका मदन गुप्ताले स्थानीय नागरिक मञ्चका संयोजक चित्रबहादुर गुरुङ र गाविस सचिव हरिबहादुर पुनको मिलेमतोमा रातो कार्ड लिएका हुन् ।गुप्ता हाल गुरुङकै छिमेकीको घर भाडा लिएर व्यापार गर्दै आएका छन् ।
सचिव हरि बहादुर पुनले भने वडा नागरिक मञ्चका संयोजकबाट सिफारिस आएकोले रातो कार्ड जारी भएको स्वीकार गरे पनि आफूलाई गुप्ता भारतीय नागरिक भएको थाहा नभएको बताएका छन् । सचिव पुनले भने ,“उनी भारतीय नभई मधेसी नागरिक हुन् , हाल नागरिकता बनाउन मधेस गएका छन् ।
‘गुप्ताको बारेमा स्थानीयसँग बुझ्दा उनीसँग भारतीय रासन कार्ड र मतदाता परिचय पत्र समेत देखाउने गरेको बताएका छन् ।
स्थानीय प्रभा माध्यमिक विद्यालयका शिक्षक सन्तोष धितालका अनुसार गुप्ताले छोरोलाई पढाउनका लागि समेत विद्यालयमा भर्ना गर्ने क्रममा भारतीय जन्म दर्ता बुझाएका थिए ।’ भूकम्प प्रभावितका नाममा परिचय पत्र जारी गर्नै क्रममा वडा नागरिक मञ्चका संयोजक चित्र बहादुर गुरुङबाट सिफारिस आएकोले परिचय पत्र जारी भएको हो ।
‘आफू चोखिन खोज्दै सचिव पुनले भने ,“भारतीय नागरिकलाई नेपाली नागरिकता नभएसम्म परिचयपत्र नदिने सर्तमा संयोजककै जिम्मामा रातो कार्ड राखिएको छ ।’
उता स्थानीय सामुदायिक सूचना केन्द्र खरिबाेटका अक्ष्यक्ष चूडामणि ढकालका अनुसार ‘रातो कार्ड मार्फत नै भारतीय नागरिकले भूकम्पपीडितको नाममा पाउने सबै खाले राहत लिने गरेको दाबी गरेका छन् । उनले पहिलो चरणको पन्ध्र हजार रुपैयाँ समेत गाविसबाट लिइसकेका छन् ।’
यस बारे उनीसँग बुझ्न खोज्दा उनी नागरिकता बनाएर आएको भन्दै घर तिर गएको उनले भने ।
यता सचिवले भने उनले कुनै पनि खालको राहत नलिएको दाबी गरे । स्थानीय वासीले भने वडा नागरिक मञ्चका संयोजक गुरुङले आफ्नो घर किन्ने सहमतिमा भारतीय नागरिकलाई रातो कार्ड दिएको बताएका छन् ।
यस बारे थप बुझ्न खोज्दा गुरुङलाई सम्पर्कमा ल्याएर कुरा गर्ने भन्दै फोन राखेका सचिव पुनले पछिल्लो समय फोन रिसिभ गर्नै छाडेका छन् ।