गोरखा– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक पार्टीबीच जस लिन खोज्ने प्रवृत्तिले भूकम्प पीडित अहिलेसम्म टहरामा बस्न बाध्य भएको बताएका छन्।
कांग्रेसको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्न गोरखा आएका कोइरालाले भने, ‘कसको सरकार भएको बेलामा काम भयो भनेर हेरिन्छ। त्यसले मेरो पालामा पुननिर्माण प्राधिकरण गठन हुन सकेन।
‘प्राधिकरण गठनमा ढिलाइ भएकै कारण अहिलेसम्म पुननिर्माणको काम सुरु हुन नसकेको बताउँदै कोइरालाले तीन महिना अघि प्राधिकरण गठन गर्न सहयोग गरेको भए अहिले पुननिर्माण धमाधम भइरहेको हुने बताए ।
‘कुन पार्टीको को सरकार हुँदा काम भयो भनेर हेरिन्छ, यस्तो गर्नु दुर्भाग्य हो, जनताले सुख पाए त भयो नी!’, कोइरालाले भने। भूकम्पपछि टहरामा बसेका उत्तरी गोरखाका पीडितलाई लक्षित गर्दै अझै कहिलेसम्म पुन निर्माण सुरु हुन्छ भन्नेमा अन्यौल भएको छ ।
पार्टीको आउँदो महाधिवेशनप्रति लक्षित गदै सभापति कोइरालाले गुट उपगुट पार्टीमा हुन नहुने बताए। उनले जोगाउन बामपन्थीहरु एक भइरहेका बेला पार्टी भित्रकै झगडाले कांग्रेसलाई कमजोर बनाएको भन्दै मिलेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।
पार्टीको गाउँ, नगर र जिल्ला अधिवेशन नहुने भन्ने अन्यौल नराख्न कार्यकर्तालाई आग्रह गर्दै आइतबार निर्वाचन निर्देशिका तयार भइसकेको बताए । पार्टी भित्र गुट उपगुट भनेर नहिँड्न कार्यकर्तालाई उनले पटक पटक सुझाब दिए ।
‘गल्ती मानिसबाट हुन्छ, मैले पनि सभापति र प्रधानमन्त्री हुँदा गल्ती गरेको हुन सक्छु, सिधै भन्नुहोस तर गुट उपगुट हुन हुँदैन।’तराईका नागरिकले संविधानप्रति बिमती जनाउँदै राखेका जायज माग पुरा हुने कोइरालाले बताए ।
उनले भने ‘तराईको जायज माग कांग्रेसले पुरा गराउँछ, त्यसका लागि हामी सहयोग गर्छौ।’ नयाँ बनेको संविधानले आदिबासी जनजाती, उत्पीडित सबैलाई समेटेको बताउँदै उनले संकटमा रहेको नेपाललाई आर्थिक सम्वृृद्धी र बिकासको बाटोमा अगाडी बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारण ब्यक्त गरे। नागरिक दैनिकमा नरहरी सापकाेटाले खबर लेखेका छन् ।