गोरखा- वैशाखमा गएको भूकम्पको केन्द्रविन्दू वारपाकका हिमपात प्रभावित बासिन्दाका लागि पहिलो खेप सहयोग सामग्री पुर्याइएको छ । हिमपात भएको ४ दिनपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत सामग्री लगिएको हो ।
तर धेरैजसो बिस्कुट, त्रिपाल र पानी भर्ने जग लगायतका सामग्री आइपुगेको बारपाकका बासिन्दाले बताएका छन् ।
आफूहरुले न्यानोका सामग्रीको आशा गरेपनि बिस्कुटलगायत सामग्री खसालेर हेलिकप्टर फर्किएको खेमराज घलेले बताउनुभयो । बुधबार थप सामग्री ढुवानी गरिने जिल्लास्थित नेपाली सेनाको भैरवी दल गणले जनाएको छ ।
लाप्राकमा राहत सामग्री पठाउन कठिनवारपाकको छिमेकी लाप्राक गाविसमा भने दिनभर बाक्लो हुस्सु लागेकाले सामग्री पुर्याउन कठिनाई भएको छ ।
केरौंजा, उहीया, मान्बु, काशिगाउँ, गुम्दा लगायतका गाविसमा पनि हेलिकप्टर मार्फत न्यानोका थप सामग्री लगिएको छ । हिमपातपछि वारपाकसहित गोरखाको उच्च पहाडी क्षेत्रका भूकम्प प्रभावितहरुको जनजीवन कष्टकर बनेको छ ।
यसअघि १० हजार रुपैयाँ बराबरको न्यानोका सामग्री बाँडिएपनि त्यसकै भरमा जाडो थेग्ने अवस्था नरहेको घलेको भनाई छ ।
चिसोकै कारण भूकम्पपीडितहरु बिरामी पर्न थालेका छन् । धेरैजसोमा घाँटी दुख्ने, रुघाखोकी, ज्वरो र जीऊ दुख्ने लगायतका समस्या देखिएको वारपाक स्वास्थ्य चौकीका अहेव अनिल शाहले बताए ।
नाकावन्दीका कारण त्यस क्षेत्रका स्वास्थ्य चौकीहरुमा पर्याप्त औषधी छैनन् । तत्काल अभाव नभैहालेपनि ढुक्क हुने अवस्था भने नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । हिउँ पग्लिन थालेपछि जनजीवन सामान्य बन्दैवस्ती र बाटोको हिउँ पग्लेपछि जनजीवन बिस्तारै सामान्य बन्दै जान थालेको छ ।
तर वनजंगल र खोंचहरुमा अझै हिउँ जमिरहेकाले बस्तुभाऊ चराउन र घाँसदाउरा गर्न समस्या भएको वारपाकका मनुष घलेले बताए । हिउँ पग्लेपछि बाटोघाटो चिप्लो भएकाले हिँडडुलमा पनि समस्या भैरहेको उनको भनाई छ ।
बैशाख १२ गते भूकम्प गएको ९ महिना हुन लाग्दा समेत स्थायी वासको ब्यवस्था हुन नसकेकोमा भूकम्प प्रभावित गाविसका वासिन्दाले चित्त दुखाएका छन् ।किस्ता किस्तामा राहत रकम र सामग्री वितरण गर्नुभन्दा पुनर्निर्माणमा जोड दिनुपर्ने उनीहरुको भनाई छ । वारपाककै खेमराज घले भन्छन्, “घैंटो किन्दा किन्दा गाग्री किन्ने पैसा खर्च भयो, तर हाम्रो घर बनेन ।”