काठमाडाैँ- गृह मन्त्रालयले १० पहाडी जिल्लामा प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी प्रमुख बनाउने तयारी गरेको छ । ती जिल्लामा गत असोजदेखि सहसचिवस्तरका प्रमुख जिल्ला अधिकारी खटाइसकिएको छ ।
मन्त्रालयका अनुसार इलाम, स्याङ्जा, धादिङ, नुवाकोट, पाल्पा, गोरखा, सिन्धुली, गुल्मी, सिन्धुपाल्चोक र बाग्लुङमा एसपी प्रहरी प्रमुख हुने छन् । ‘प्रहरी प्रधान कार्यालयबाट फाइल आइसकेको छ,’ गृहका एक अधिकारीले भने, ‘अब केही दिनभित्रै मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगिने छ ।’सेवा सुविधा बढ्ने भएकाले अर्थ मन्त्रालयको स्वीकृति चाहिने ती अधिकारीले बताए ।
सबै प्रक्रिया अगाडि बढिसकेकाले केही दिनभित्रै निर्णय गरिने उनको भनाइ छ । प्रहरी प्रवक्ता डीआईजी कमलसिंह बमले जनसंख्याको चाप र अपराध बढेकाले एक तहमाथिका अधिकृतलाई प्रमुख बनाइन लागेको हो ।