गोरखा- मुच्चोक–२, ढिस्काकी सावित्री सुनार (४२) मंगलबार जिल्ला प्रशासन कार्यालयअगाडि सुकसुकाइरहेकी थिइन् । नौमहिने छोरी अप्सरा र ७० वर्षे आमा सुकमायालाई सँगै लिएर नागरिकता बनाउन प्रशासन धाइरहेकी उनले भूकम्पले उठीबास लगाएको नौ महिनासम्म राहत त के पीडित परिचयपत्र (रातो कार्ड) सम्म पाएकी छैनन् ।
प्रभावित जिल्लाका टाठाबाठाले घरधुरी फुटाएर वास्तविकभन्दा बढी फर्जी कार्ड बनाएर त्यसकै आधारमा राहत बुझेका छन् तर सावित्रीजस्ता वास्तविक पीडितले भने पटक–पटक सदरमुकाम आएर हारगुहार गर्दा पनि पीडितको परिचय पनि पाएका छैनन् ।
मुच्चोकस्थित घर वैशाख १२ को भूकम्पले भत्काउँदा सावित्री ६ दिनकी सुत्केरी थिइन् । बेलुका मासु खुवाउने आस देखाएर ज्यालामजदुरी राजधानी काठमाडौंतिर लागेका उनका श्रीमान त्यसपछि कतै देखिएका छैनन् । पति भीमबहादुर भूकम्पमा कता पुरिए, कुनै ठेगान छैन ।
जग्गाजमिनका मालिक श्रीमान बेपत्ता रहेको र आफ्नो नागरिकता नभएकाले सावित्रीले भूकम्पको नौ महिनासम्म केही राहत पाएकी छैनन् । ‘हामी कुल्ली काम गर्ने मान्छे, नागरिकता चाहिन्छ भन्ने थाहै थिएन,’ उनले नागरिकसँग दुःख बिसाइन्, ‘जग्गाजमिन सबै श्रीमानको नाममा भएकाले कार्ड पनि दिएनन्, अरुले राहत पाउँदा म भोकैनांगै भएँ ।’
सावित्रीका पाँच सन्तानमध्ये जेठीको बिहे भयो । तीनटीलाई भूकम्पपछि एक कोरियालीको सहयोगमा काठमाडौंको ग्रिनल्यान्डस्थित एक अनाथालयले जिम्मा लिएको छ । सावित्री भने नौमहिने छोरी बोकेर बिहानबेलुकीको छाक टार्न र ओत लाग्ने कटेरो बनाउन राहतका लागि भौंतारिइरहेकी छन् ।
नौमहिने छोरीको मुटुमा समस्या छ । सावित्री आफैं पनि बिरामी छिन् । मुटुमा पानी जमेर गंगालाल हृदयरोग केन्द्रमा उपचार गराएकी उनलाई दैनिक औषधि खानुपर्छ । आर्थिक अवस्था कमजोर भएकै कारण उनले औषधि खाने खर्च पनि मागेर जुटाउनुपर्छ ।
भूकम्प जाँदा श्रीमान राजधानीमा थिए । खोजी गरिदिन पटकपटक प्रहरीमा हारगुहार गरेपछि औँठाछाप ल्याउन भने । सावित्री श्रीमानको नागरिकता बनाउँदा जिल्ला प्रशासनको ढ्ड्डामा लगाएको औँठाछाप लिएर काठमाडौं गइन् । त्यसबाट पनि कुनै पत्तो नलागेपछि गाउँ फर्किइन् । भूकम्पपीडितलाई सरकारले अस्थायी टहरा बनाउन १५ हजार, न्यानो लुगा किन्न १० हजार राहत बाँडेको छ । उनले अहिलेसम्म त्यो पनि पाइनन् ।
टहरा हाल्नसमेत नसकेपछि सावित्री छोप्राक–८ स्थित माइत बस्दै आएकी छन् । ‘आमाको वृद्धभत्ताले एक पेट खाएकी छु,’ सुनारले रुँदै भनिन्, ‘सबैले राहत पाएका छन्, मजस्ता दुःखीलाई राहत दिन किन आलटाल गरेका होलान् ?’ गाउँका ठूलाबडालाई धेरैपटक भन्दा पनि केही नपाएपछि उनी आमालाई साथै लिएर नागरिकता लिन सोमबार गोरखा आएकी हुन् । सोमबार काम सकिएन । गोरखा अस्पतालको प्रतीक्षालयको भुइँमा सुतेर खाली पेट रात काटिन् । ७० वर्षे आमा पनि भोकै ।
मंगलबार उनी नागरिकता पाउने आसमा बूढीआमालाई साथै लिएर प्रशासन पुगिन् । प्रशासनका कर्मचारीले उनको दुःख देखेर नागरिकता बनाइदिने आश्वासन दिएको उनले सुनाइन् । नागरिकता नपाए राहत नपाउने भन्दा पनि अनाथालयमा रहेकी छोरीको बिचल्ली हुने चिन्ता ठूलो छ उनमा । ‘अनाथालयले जन्मदर्ता मागेको छ,’ उनले भनिन्, ‘आफ्नो नागरिकता नहुँदा केही पनि बनाउन सकिनँ ।’
गैरपीडितले पहुँचको आडमा कार्डसँगै राहत लिने क्रम बढेको छ । गोरखामा करिब ६० हजार धुरी रहेकामा ७० हजारले राहत लिइसक्दा पनि सावित्रीजस्ता वास्तविक पीडित भने राज्यविहीनता महसुस गरिरहेका छन् ।