गोरखा- जिल्लाका ६० गाविसमा बसोबास गर्दै आएका भूकम्पपीडितलाई ‘न्यानो कपडा’ खरिदका लागि रु १० हजारका दरले राहत रकम वितरण गर्न सुरु गरिएको छ ।
पहिलो चरणमा ३८ र दोस्रो चरणमा २२ गाविसमा राहत रकम वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । प्रजिअ बलदेव गौतमका अनुसार गोरखा नगरपालिका र पालुङटार नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका भूकम्पपीडितलाई अझै रकम वितरण गर्न सकिएको छैन ।
केन्द्रीय दैवी प्रकोप उद्धार समितिले रकमको निकासा पठाउन ढिलाइ गरेकाले नगर क्षेत्रका भूकम्पपीडितले राहत पाउन नसकेका हुन् ।निकासा आएपछि राहत वितरण गरिने स्थानीय विकास अधिकारी प्रेमराज गिरीको भनाइ छ ।
नक्कली भूकम्पपीडितले पनि पूर्णरुपमा घर भत्किएको दाबीसहित राहत रकम माग गरेपछि गोरखा र पालुङटार नगरपालिकामा राहत रकम वितरणमा झन् ढिलाइ हुने देखिएको छ ।
नक्कली भूकम्पपीडितले राहत लिएको भन्दै आवश्यक छानबिनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिमा नौ हजार निवेदन परेका छन् । ती निवेदनमाथि छानबिन भइरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले केही दिनमै छानबिनको अन्तिम टुङ्गोमा पुगिने बताए ।