गाेरखा- धुवाँकोट ८ पाण्डेगाउँको धुवाँकोट प्राबिमा विद्यार्थी रित्तिएको छ । गुरुङहरुको मात्र बसोबास रहेको पाण्डेगाउँमा घरहरु रित्तिएसंगै विद्यालयमा विद्यार्थी रित्तिएका हुन् ।
विद्यार्थी रित्तिएपछि कक्षा पाँचसम्म सञ्चालन भएको सो विद्यालय कक्षा तीनसम्म झारिएको प्रधानाध्यापक टेकबहादुर थापाले जानकारी दिए । ‘जम्मा तीन जना विद्यार्थी पढ्छन्’ उनले भने ‘गाउँ नै घरबिहिन हुदै गएको छ ।
छ–सात वटा घर बाँकी छन् । त्यसमा पनि बालबालिका छैनन् । भएका बालबालिका पनि अन्यत्रै पढाउने गरेका छन् ।’ पाण्डेगाउँका बासिन्दा केही बर्षदेखि पाण्डेबेशीमा बसाइँ सर्ने क्रम बढेको उनले बताए । प्रअ थापाका अनुसार सो विद्यालयमा २० वर्ष अघि डेढसय जना विद्यार्थी पढ्थे । ‘अहिले जम्मा तीन जना छन् । सबै कक्षा एकका मात्र हुन ।’
विद्यार्थी संख्या कम भएपछि विद्यालयमा प्रधानाध्यापक मात्र छन् । गाउँमा पूजाआजा, बिहे ब्रतबन्ध भएको दिनमा ती तीन जना विद्यार्थी पनि अनुपश्थित भएपछि विद्यालय बन्द हुने गरेको स्रोतले जनाएको छ ।
‘तीन जना पनि सबै सँधै आउँदैनन्’ स्रोतले भन्यो ‘गाउँमा चाडपर्व र बिहेबर्तुन भएको दिनमा त ती तीन जना पनि आउँदैनन् । विद्यालय बन्दै हुन्छ ।’ विद्यार्थी संख्या कम भएपछि गतबर्ष जिल्ला शिक्षा कार्यालयले त्यहाँका दुई मध्य एक जना शिक्षकलाई छिमेकी मदनेडाँडा माध्यमिक विद्यालयमा काज सरुवा गरेको छ ।
तर जिल्ला शिक्षा कार्यालयले सो विद्यालयले १३ जना विद्यार्थी संख्या पेश गरेको जनाएको छ । ‘जिल्ला शिक्षा कार्यालयमा १३ जना विद्यार्थीको नाम सहितको विवरण पेश गरेको छ’ सहायक जिल्ला शिक्षा अधिकारी हेम आचार्यले भने ‘पछिललो अबस्था के रहेछ, तत्काल स्रोतव्यक्ति मार्फत विद्यार्थी संख्याको यथार्थ विवरण बुझ्छौं ।’
विद्यार्थी संख्या ज्यादै कम भए नजिकैको विद्यालयसंग गाभ्ने उनले बताए । कार्यालयका अनुसार अहिल ेसम्म गोरखाका ४२ विद्यालय छिमेकी विद्यालयसंग गाभिइ सकेका छन् । सरकारी स्रोत साधनको सही सदुपयोग गर्न विद्यालय गाभ्ने नीति लिएको उनले बताए । बसाइँ–सराइ र परिवार नियोजनको प्रभावकारिताका कारण गाउँका विद्यालयमा विद्यार्थी रित्तिने गरेको कार्यालयले जनाएको छ ।
नीति अनुसार यो विद्यालय गाभिएपछि वडा नं. ८ विद्यालय विहिन बन्नेछ । यस अघि वडा नं. ४, वडा नं. ६ र वडा नंं. ९ विद्यालय विहिन भइसकेका छन् । वडा नं. ६ भने मानव बस्ती विहीन भइसकेको छ ।