गोरखा- एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिमानामा भएको नाकाबन्दी भारतले गरेको बताउँदै भारत सच्चिएर तत्काल नाका खोल्नुपर्ने बताएका छन् ।
एकीकृत नेकपा माओवादी गोरखाले आज जिल्ला सदरमुकाम गोरखामा गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै नेता श्रेष्ठले संविधान जारी भएपछि भारतले जुन हर्कत देखायो त्यो उसका लागि घातक भएको बताएका छन् ।
भारतका संसदमा विरोध हुनुका साथै अन्तर्राष्ट्रिय समुदायले समेत विरोध जनताउँदा भारतकाे साख गिरेको उनको भनाई थियो । भारत आफ्ना निम्ति केही कुरा सुरक्षित गर्न चाहेको भएपनि राष्ट्रिय हित विपरित नेपाली जनता कुनै पनि अनावश्यक सम्झौता गर्न तयार नभएका कारण अहिलेको समस्या आएको उनको भनाई थियो ।
सरकारका काम त प्रभावकारी भएनन् नी भन्ने प्रश्नमा नेता श्रेष्ठले सोचे जस्तो नभएको कुरा सत्य भएको बताउँदै एमाओवादीले लिएका मन्त्रालयका कामहरुलाई प्रभावकारी बनाउने र सिंगो सरकारका कामलाई नै प्रभावकारी बनाउने तर्फ आफूहरु लागि परेको उनले बताए ।
मधेश आन्दोलनको राजनैतिक समाधान के हो भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘ दलका नेतृत्वहरु निरन्तर छलफलमा हुनुहुन्छ , आन्तरिक रुपमा यहीका नेतृत्वले हल गर्ने हो, कसैको हस्तक्षप नहुँदा समस्या समाधान सजिलै हुन्छ । ”एकीकृत नेकपा माओवादी पार्टी अन्य पार्टीसँग एकीकरण हुने कुरा कति सत्य हो भन्ने प्रश्नमा बैचारिक राजनैतिक विषयमा एकता हुने पार्टीसँग एकता हुने उनको भनाई छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले के गर्ला जस्तो लाग्छ भन्ने प्रश्नमा, केही गर्दैन भन्ने सबैलाई लागेकै छ त के गर्छ भन्दै उनले भने, एउटा नागरिकलाई नयाँ पार्टी खोल्ने अधिकार छ, त्यो अधिकार उनले प्रयोग गरेका हुन्, नयाँ शक्ति होईन नयाँ पार्टी हो, त्यसले एमाओवादीलाई केही प्रभाव पार्दैन ।
माक्र्सवाद र सुधारवादलाई फियुन गराएर नयाँ शक्ति नहुने श्रेष्ठले बताए । जिल्ला स्तरिय पार्टी कार्यकर्ता प्रशिक्षणमा शनिबार गोरखा आईपुगेका नेता श्रेष्ठले पार्टीका आन्तरिक संगठनलाई प्रशिक्षित गरेर जान निर्देशन समेत दिएको एमाओवादी गोरखाले जनाएको छ ।