मुच्चोक- गोरखाको मुच्चोक गाविसमा स्वास्थ्य चौकी भवन निर्माणका लागि पुर्वाधार तयारी कार्य शुरु भएको छ ।
नेपाल सरकार, -स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालय, गोरखाको सम्योजन तथा आइ एम सि, इन्टर्नेसनल मेडिकल क्रपको करिब ३३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा सुबिधाजन्य स्वास्थ्य चौकी भवन निर्माणका लागि करिब ८ रोपनी क्षेत्रफल भित्र ८ कोठे सरकारी मापदन्ड बमोजिमको भुकम्प जोखिम नभएको भवन निर्माण हुन लागेको हो ।
भवन निर्माणको जिम्मा भने द डिजाइनर्स नेपालले लिएको छ । अहिले स्वास्थ्य चौकिसम्म जाने सडक मर्मत गर्ने, जग्गा खार्ने र नाप बमोजिम जग खन्ने काम भइरहेको र एक हप्ताभित्र निर्माण शुरु गरि छिटोभन्दा छिटो सम्पन्न गर्ने र स्वास्थ्य चौकिलाई हस्तान्तरण गर्ने कुरा इन्जिनियर रामनाथ शाहले जानकारी दिए ।
विगतमा मुच्चोक १ राम्चेमा रहेको उपस्वास्थ्य चौकी भवन गत वर्षबाट सरकारले स्वास्थ्य चौकिमा परिणत गरे पश्चात् उक्त स्थानमा उपयुक्त जग्गा मिल्न नसके पछि मुच्चोक गाविस वडा नम्बर ५ मा अवस्थित थानिथान मन्दिर नजिकैको जग्गा स्वास्थ्य चौकीको नाममा खरिद गरि दर्ता भएको र हाल उक्त स्थानमा नै सो भवन बन्न लागेको हो ।
करिब ३० लाख रुपैयाँमा भवन सम्पन्न गर्ने र बाकी रकम अन्य स्वास्थ्य सम्बन्धी प्रयोजनमा खर्च गरिने स्रोतले जनाएको छ । विगतमा सिटामोल किन्न पनि समयमा नपाउने मुच्चोक उपस्वास्थ्य चौकी अब स्वास्थ्य चौकी बन्ने र थप दरबन्दी पनि थपिने तथा अन्य सुबिधा पनि बढ्ने भएकाले पीडित मुच्चोके जनताहरु स्वास्थ्य सुबिधा पाउने आशामा खुशी ब्यक्त गर्न थालेका छन् ।