गोरखा- कांग्रेस क्षेत्रीय अधिवेशन शुक्रवारदेखि सुरु हुदैछ । जिल्ला अधिवेशन माघ २५ गते सोमबारदेखि सञ्चालन हुनेछ । क्षेत्रीय अधिवेशनले क्षेत्रीय सभापति सहित महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।
क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा आकाङ्क्षा राख्नेहरू सदरमुकामका विभिन्न होटलहरुमा क्याम्प खडा गरेर माहौल आफ्नो पक्षमा बनाउन प्रयत्न गरिरहेका छन् ।
क्षेत्र नम्बर एकमा धिरन थापा, बासु थापा र इमानसिंह बस्नेत क्षेत्रीय सभापतिको आकाङ्क्षी छन् । क्षेत्र नम्बर दुईमा प्रकाशचन्द्र दवाडी, गोविन्द गुरुङ, कृष्णप्रसाद पोखरेल, ओम गुरुङ र दीपक हमाल क्षेत्रीय सभापतिको दाबेदार छन् । त्यस्तै क्षेत्र नम्बर तीनबाट ठाकुर भट्ट, भरत भट्ट, जीवन वन्त, गगन अधिकारी, इन्द्रबहादुर गुरुङले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
जिल्ला सभापति पदमा चार जनाले उम्मेदवारी दिने चर्चा छ । संस्थापन पक्षबाट वर्तमान सभापति हरिबहादुर घले र पूर्व सचिव किरणबाबु श्रेष्ठको नाम चर्चामा छ भने वरिष्ठ नेता शेरबहादुर देउवा समूहबाट पूर्व सचिव ईश्वर पाण्डे र फडिन्द्र धितालले उम्मेदवारी दिने तयारी गरेका छन् ।
अन्तिमसम्म दुवै लाइनबाट एक एक जनाले चुनाव लड्ने सम्भावना पनि देखिएको पार्टी सचिव शुकदेव दवाडी बताउँछन् । त्यस्तै सचिव पदमा राजन राज पन्त, नन्दप्रसाद न्यौपाने, पूर्ण दाहाल र रामशरण अधिकारीले उम्मेदवारी दिने तयारी गरेका छन् । कोषाध्यक्ष पदमा कृष्ण आले र चेत बहादुरी अधिकारीले उम्मेदवारी दिने तयारी भएको स्रोतले जनाएको छ ।
शुक्रवारदेखि सुरु हुने क्षेत्रीय अधिवेशनले प्रत्येक निर्वाचन क्षेत्रबाट छ जना खुल्ला र छ जना आरक्षित कोटाबाट गरी १२ महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ । तीन वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिका लागि पनि निर्वाचन हुने निश्चित भएको सचिव दवाडीले बताए ।
क्षेत्र नम्बर एकबाट क्षेत्रीय प्रतिनिधिमा चिरञ्जीवी वाग्ले, किरणबाबु श्रेष्ठ, जीवन प्रेम श्रेष्ठ, ईश्वर पाण्डे, विश्वदेव श्रेष्ठ, राजनराज पन्त, ध्रुव पन्त, खुनप्रसाद रेग्मी, प्रेमकुमार श्रेष्ठ, परशुराम पन्त, तुलाराम दाहाल र भूगोल थापा खुल्लातर्फका उम्मेदवार बन्ने दाबी गरेका छन् । क्षेत्र नम्बर दुईबाट शुकदेव दवाडी, मोहन पोखरेल, फडिन्द्र धिताल, अब्दुल सतार, रविकला खनाल, वेदप्रसाद काप्री, चेतमान श्रेष्ठ, चन्द्रप्रसाद न्यौपाने, नारायण गुरुङ, सिपी पोखरेल, गेहेन्द्रराज विष्ट, अशोक गुरुङ, पीताम्बर बडू, मदन दवाडीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दाबी गरेका छन् ।
क्षेत्र नम्बर तीनमा चीनकाजी श्रेष्ठ, हरिबहादुर घले, नन्दप्रसाद न्यौपाने, पूर्ण दाहाल, राजेन्द्र बजगाईँ, प्रेम खत्री, डिल्लीराम तिम्सिना, ठाकुर पुडासैनी, ईश्वर अधिकारी, केशरी ढकाल, धर्मेन्द्रकाजी श्रेष्ठ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने तयारीमा छन् । यो अधिवेशनमा जिल्ला स्तरका नेता अनुसारको उपगुटहरू देखिएको छ ।
प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, केन्द्रीय सदस्य कमला पन्त, वर्तमान सभापति तथा पुन सभापति पदका उम्मेदवार हरिबहादुर घले, सभापति पदका अर्का उम्मेदवार किरणबाबु श्रेष्ठ, सचिव शुकदेव दवाडी लगायतका नेताहरूले यस समूहको नेतृत्व गरिरहेका छन् । उनीहरू बसपार्कस्थित होटेल प्याराडाइजमा रहेर प्रचार अभियान चलाइरहेका छन् ।
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले शेरबहादुर देउवा लाइनको नेतृत्व गरिरहेका छन् । ईश्वर पाण्डे र फडिन्द्र धिताल यो समूहका सभापति पदका उम्मेदवार हुन् । नेता जीवन प्रेम श्रेष्ठ, पूर्व जिल्ला सभापति चेतमान श्रेष्ठ, जिल्ला कोषाध्यक्ष भूगोल थापाले यो लाइनलाई नेतृत्व गरी रहेका छन् । उनीहरू होटेल मिराकल र होटेल गोरखा इनमा रहेर प्रचार अभियान चलाइरहेका छन् ।
पूर्व नेता चिरञ्जीवी वाग्लेले फरक धारको नेतृत्व गरिरहेका छन् । विगतमा देउवा समूहको ठुलै नेता भए पनि केही बर्सअघिदेखि कोइराला निकट देखिएका उनी अहिले मध्यमार्गी धारमा छन् । अहिले पनि उनले दुवै समूहमा असहमत राख्ने कार्यकर्ताहरूलाई समेटेर नयाँ अभियान चलाइरहेका छन् । सभापति पदमा भने फडिन्द्र धिताललाई सघाउने चर्चा छ ।
उनले होटेल बिसौनीमा रहेर प्रचार अभियान चलाइरहेका छन् । पूर्व जिल्ला सभापति भोजराज कँडेल र राममणि धितालले पनि अर्को फरक धारको नेतृत्व गरिरहेका छन् । संस्थापन कोइराला लाइनमा राम्रै चिनिएका उनीहरूले सभापति पदमा कसलाई सघाउलान् भनेर अनुमान भएको छैन ।
विशेष गरी आफूलाई संसदीय चुनावमा टिकट नदिएको प्रतिशोध लिन केही नेता विरुद्धमा उनीहरूको प्रचार अभियान देखिएको छ । क्षेत्रीय अधिवेशनमा क्षेत्र नम्बर एकबाट २२५ जना, दुईबाट २४५, र तीनबाट २९० जना क्षेत्रीय अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।