त्यति बेला दमन, शोषण र अत्याचार व्याप्त थियो । त्यही अन्याय अत्याचारको अन्त्यका साथै राज्यको व्यवस्था नै बदल्ने उद्घोषका साथ सुरु गरेको थियो तत्कालीन नेकपा माओवादीले जनयुद्ध । जनयुद्धमा हजारौँ युवाहरूले भाग लिए । त्यही परिवर्तनको आन्दोलनले एउटा ‘फुच्चे’ युवालाई पनि तान्यो ।
फुच्चे युवा उनै थिए गोरखाका रमेश पोखरेल ‘अटल’ (३२), जो अहिले बाबुराम भट्टराईले चलाइरहेको नयाँ शक्ति अभियानको सबैभन्दा कान्छो केन्द्रीय परिषद् सदस्य बन्न सफल भएका छन् । परिवर्तनको आन्दोलनमा १६ वर्षको कलिलो उमेरमै होमिएका उनले युद्धका मोर्चाहरूमा अग्रस्थानमा रहेर काम गरे ।
मर्ने र मार्ने युद्धमा होमिएका उनी दोहोरो भिडन्तमा कयौँ पटक बालबाल बचेका छन् झन्डै आधा दर्जन पटक त उनी घाइते नै भए । हुन त माओवादी सशस्त्र जनयुद्धपछि शान्ति प्रक्रियामा आएको एक दशक पुग्नै लाग्यो तर उनको लागि भने जनयुद्ध अझैँ ताजै छ । किनकि बारुदका छर्राहरुहरु अझै पनि उनको शरीरभर असरल्ल छन् । तत्कालीन जनयुद्धका एक नेतृत्वकर्ता थिए बाबुराम । बाबुराम उनै गोरखाका थिए ।
उनले चलाएको परिवर्तनको आन्दोलनबाट प्रभावित भएकाले नै त उनी १६ वर्षको फुच्ने उमेरमै युद्धमा हामफालिसकेका थिए । कलिलो उमेरमै परिवर्तनका लागि होमिएका उनी त्यही पार्टीबाट परिवर्तन र विकास असम्भव भएको भन्दै नयाँ शक्ति अभियानमा होमिएका छन् । भट्टराईको गृह जिल्लाका एक खम्बासमेत रहेका उनी झन्डै दुई सयको हाराहारीमाको सदस्य रहेको केन्द्रीय परिषद्को कान्छा सदस्य बन्न सफल भएका हुन् ।
२०४० सालमा गोरखामा जन्मिएका उनी केन्द्रीय परिषद् सदस्य भएसँगै आफ्ना लागि त्यो अवसर र चुनौती दुवै भएको बताउँछन् । ‘नयाँ शक्तिले यसरी महत्त्वपूर्ण जिम्मेवारी दिनु मेरो व्यक्तिगत जीवनको निम्ति अवसर सँगै चुनौती दुवै हो ’, पोखरेलले अखबार दैनिकसँग विशेष कुराकानी गर्दै भने, ‘राजनीतिक आन्दोलनमा हामीले एउटा कोर्ष पूरा गरिसकेका छौँ ।
योगदानको हिसाबले सशस्त्र जनयुद्ध पार गरेर राजनीतिक मुद्दा संस्थागत गर्दै अहिले राष्ट्रको माग अनुसार आर्थिक क्रान्तिलाई , आर्थिक समृद्धिलाई केन्द्रमा राखेर डा बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानमार्फत नयाँ शक्ति निर्माण केन्द्रीय परिषद्को निमार्ण गर्नुभयो, यसले सम्पूर्ण नेपाली जनता जसले परिवर्तन र रूपान्तरण चाहेका छन्, ती मान्छेलाई एउटा आशा विश्वासको केन्द्रमा पनि राखेको अवस्थामा त्यही आशा र विश्वासको केन्द्र बन्ने संस्थाको केन्द्रीय परिसद सदस्य हुन पाउँदा मलाई गर्भ लागेको छ ।
’जनयुद्ध हुँदा र शान्ति प्रक्रियामा आउँदा तत्कालीन सात पार्टी र राज्य एकतातिर र ए माओवादी अर्कातिर भएजस्तै अहिले सबै दल एकातिर र नयाँ शक्ति अर्कातिर भएको महसुस भएको भन्दै यस्ता अवस्थामा विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने भएकाले त्यसका लागि परिषद् सदस्यको हैसियतले आफू तयार रहेको बताए ।‘
अहिलेको राष्ट्रिय राजनीतिको माहौल हेर्दा हिजो एकतिर माओवादी र सात पार्टी अर्कातिर भएजस्तै एकातिर सबै राजनीति पार्टी एकतिर र नयाँ शक्ति अर्कोतिर भएको अनुभूति भएको छ, यस्तो अवस्थामा त्यसको सामना गर्नु पर्ने अवस्था रहेको छ , त्यसको सामना गर्न हामी तयार छौँ’ उनले भने ।उनको बुझाइमा नयाँ शक्ति एउटा आन्दोलन हो । अभियान हो । पार्टी निर्माणको प्रक्रिया हो । इतिहासको आवश्यकताअनुसार राष्ट्र निर्माणको निम्ति नयाँ शक्ति जन्मिएको हो ।
अहिलेको विज्ञानलाई अनुसरण गर्ने युवापुस्ताको भावना समेट्ने गरी उनीहरूकै प्रतिभा र क्षमतालाई संयोजन गर्ने आँट नयाँ शक्तिले गर्ने प्रयास गरेको उनी बताउँछन् । त्यसकै लागि नयाँ शक्ति जन्मिएको भन्दै उनी अगाडि भन्छन्, ‘ त्यो आँट गर्ने सन्दर्भमा हामी कति सफल–असफल हुन्छौँ भन्ने कुरा पुष्टि गर्दै जाने कुरा हो ।
लाग्छ मलाई आँट गर्यौ भने हामीले पूरा गर्न सक्छौँ । त्यसको निम्ति हामी अहोरात्र खट्नुपर्छ । ’मार्क्सवादबारे गलत बुझाई भयो, अब क्रमभङ्ग गर्ने बेला आयो वैचारिक रूपमा तीक्ष्ण पोखरेल मार्क्सवादबारे गलत बुझाई भएको दाबी गर्छन् । अहिले मुलुकमा आफूलाई कम्युनिस्ट भन्ने हरूले मार्क्सवादको आधारभूत सिद्धान्तलाई नै भुलेर कम्युनिस्टको नाममा राज्यको ढुकुटी रित्याएर लुट मच्चाउन तल्लीन रहेको उनको आरोप छ । तर मार्क्सवादबारेको पुरातन वादी सोच बदल्नु आवश्यक रहेको उनको जोड छ ।
मार्क्सवादबारेका गलत बुझाइलाई क्रमभङ्ग गर्ने बेला भएको तर्क गर्दै उनी भन्छन्, ‘समाज विज्ञानलाई व्यावहारिक रूप दिन पनि आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्नपर्छ । हामीले अब विगतमा भएको मास्कवादबारेका गलत बुझाइलाई क्रमभङ्ग गर्ने बेला पनि आएको छ ।’उनको तर्क अनुसार कम्युनिस्टको फिलोसोफी भनेको मार्क्सवादको फिलोसाफी हो र मास्कवाद भनेको जीवन व्यवहार बाट प्राप्त गरेको ज्ञान हो ।
तर नयाँ शक्तिले बुझेको मास्कवाद भनेको विज्ञान र प्रविधिलाई संयोजन गर्न सक्ने विज्ञान हो । गतिशील विज्ञानलाई नै फलो गरेर अहिले राष्टको समृद्धिलाई अगाडि बढाउन सकिन्छ भन्ने बाबुराम भट्टराईले राखेको नयाँ दर्शन हो । एउटा विज्ञान यथास्थानमा हुन सक्दैन त्यो परिवर्तनशील हुन्छ ।
परिवर्तनशील मास्कवाद भनेकै विज्ञान र प्रविधि हो त्यो विज्ञान र प्रविधिलाई अनुसरण गर्ने भनेकै मार्क्सवाद हो ।अहिले मुलुकमा राजनीतिक परिवर्तन भएको जस्तो देखिए पनि आर्थिक, सांस्कृतिक चेतना भने जहाँको त्यही रहेको उनको तर्क छ । ‘राजनीतिक पार्टीका सम्बन्ध र संरचना हेर्दाखेरि खोरेर राखेको छाता जस्तो छ या भनौँ अर्काले समातिदिए अडिने नत्रभने आफैँ ढल्ने’ अहिलेको राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै उनी भन्छन् ।
को हुन् रमेश पोखरेल ?
सानै उमेरमा जनयुद्धमा होमिएका उनले स्थानीय महेन्द्र मेलाङ माध्यमिक विद्यालयबाट एसएलसी पास गरेको हुन् । पछि चितवनको सप्तगण्डकी क्याम्पसबाट आई कम गरे । हालै मात्र गोरखा क्याम्पसबाट पोलिटिकल्स साइन्समा स्नातक गरेका हुन् उनले ।पारिवारिक रूपमा चार भाइ मध्येका कान्छा उनी , दुई दाइ अध्यापन पेसामा छन् ।
साइँलो दाइ भीमसेन पोखरेल जनयुद्धमा सहिद भए । जो तत्कालीन अवस्थामा मध्य क्षेत्रको सैन्य कमान्डर थिए भने ५६ साल भदौ २३ गते उनी गोरखाको गाँखु भन्ने ठाउँमा त्यति बेलाको पार्टीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्लेसँगै सहिद भएका हुन् । जनयुद्धमा दाइ गुमाएका उनी आफैँ ०५६ को असोजबाट पार्टीमा होलटाइमर भए।
पार्टीमा त्यति बेलाको सैन्य संरचनाको स्वयार्ड , प्लाटुन हुँदै पछिल्लो चरणमा माओवादीका शान्ति प्रक्रियासँगै शिविरमा गुम्दा बटालियन कमान्डरको हैसियतमा उनी बाहिर निस्किए । र , पछि वाइसिएलको केन्द्रीय सदस्य पनि भए । यसो त उनले जनयुद्धमा अर्को क्षति पनि बेहोर्नुपर्यो ।
दिदी निरु पोखरेललाई पनि सेनाले ५८ सालमा हत्या गर्यो । गोरखा क्याम्पसमा पढ्दै गर्दा कलेबाटै पक्राउ गरेर एक महिनापछि दोहोरो भिडन्तको नाममा गोरखाको १२ किलोमा उनको हत्या भएको हो । परिवारका दुई जनाले ज्यान त गुमाए त्यति बेला सेनाले उनको परिवारलाई कम्ता दुःख दिएन ।
जनयुद्धको दौरानमा आफू ३ दर्जनभन्दा पछि सेना र पुलिसको लडाइमा सहभागी भएको बताउँछन् । लडाइको क्रममा पाँच पटक घाइते भए भने शरीरमा अहिले पनि गोलीका छर्राहरू छन् । माओवादी खुल्ला राजनीतिमा आएसँगै लामो समय गोर्खाको क्षेत्रीय राजनीतिमा सक्रिय रमेश बाबुरामको भट्टराईको पक्षमा निरन्तर उभिइरहे ।
ए माओवादी गोरखामा विवाद आउँदा उनले संस्थापनसँग कडा टक्कर समेत लिएका थिए । त्यही टक्करकाबीच समानान्तर पार्टी चल्दा उनी गोरखा जिल्ला सचिवको रूपमा समानान्तर संगठनमा सक्रिय रहेका थिए । संस्थापनले बाबुराम पक्षलाई पेलेरै जान खोजेपछि बनाए पनि उनी संस्थापनको खरो रूपमा आलोचक भएका थिए ।
यद्यपि फरक मतको सम्मानसहित सबै एकजुट भएर अघि बढ्नुपर्छ भन्ने मान्यतामा उनी रहेका थिए । माओवादीबाट विकास र आर्थिक क्रान्ति सम्भव नहुने ठहरसहित भट्टराईले नयाँ शक्तिको अभियान चलाएसँगै उनी गोरखा संयोजकका रूपमा थिए भने केही साताअघि मात्रै घोषणा भएको भएको नयाँ शक्तिको युवा अभियानमा पनि आबद्ध थिए ।
यसरी नयाँ शक्तिको अभियानको क्रममा जुट्दै गर्दा सबैभन्दा कान्छो केन्द्रीय परिषद् सदस्य बन्न सफल भएका हुन् उनी । युवाको सहभागितामै आर्थिक समृद्धि सम्भव हुने नयाँ शक्तिले बताउँदै आएको र त्यही अनुसार आफूले महत्त्वपूर्ण जिम्मेवारी पाएको लख काट्छन् उनी । उनी भन्छन्, ‘युवालाई अघि बढाएको खण्डमा विकास र आर्थिक समृद्धि सम्भव छ ।
त्यही बुझेर नै नयाँ शक्तिले यो महत्त्वपूर्ण जिम्मेवारी दिएको हो भन्ने लाग्दछ ।’युवा सहभागिता, आर्थिक समृद्धि र विकासको मूल एजेन्डा बोकेको नयाँ शक्तिको कान्छो सदस्य बन्न सफल पोखरेलले आफ्नो जिम्मेवारी कसरी पूरा गर्छन् त्यो भने हेर्न बाँकी छ ।