काठमाडौँ- वैदेशिक रोजगार प्रवद्र्धन बोडले वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएको छ ।
गन्तब्य मुलुकहरुमा अदक्ष जनशक्ति रोजगारीका लागि गएर विभिन्न खाले समस्यामा परेपछि बोर्डले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो ।
वार्षिक रुपमा तीन हजार युवालाई तालिम दिँदै आएको बोर्डले यो वर्ष १० देखि १२ हजारसम्मलाई विभिन्न विधामा सीममूलक तालिम दिन लागेको छ ।
गन्तब्य मुलुकहरुको आवश्यकता अनुसारको वैदेशिक रोजगारीमा जानेलाई तालिम दिन लागिएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी बोर्डले १६० घण्टे आवासीय तालिम दिन लागेको हो ।
इलेक्ट्रिसियन, प्लम्बर, हाउसकिपिङ, वाइरिङ, कुक, सुरक्षागार्ड लगायतका विधामा तालिम दिइनेछ । त्यस्तो तालिम सम्बन्धित जिल्लाहरुमा गएर दिइने छ । तालिम प्रदायक संस्थाहरुको छनौटको काम सकिएको र चाँडै सञ्चालन गरिने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार पूर्वाञ्चलमा दुई हजार ३००, मध्यमाञ्चलमा तीन हजार, पश्चिमाञ्चलमा दुई हजार, मध्यपश्चिमाञ्चलमा एक हजार ४०० र सुदूरपश्चिमाञ्चलमा एक हजार ३०० लाई तालिम दिइने छ ।
उद्यमशिलता विकास गर्ने र उनीहरुलाई स्वदेशमै आकर्षित गर्ने उद्देश्यले यस्तो किसिमको तालिम सञ्चालन गर्न लागिएको बोर्डका सहायक निर्देशक दीपेन्द्र पौडेलले बताए ।
बोर्डले सीपमूलक तालिमका लागि वार्षिक बजेट अनुरुप १५ करोड विनियोजन गरेको छ । तालिमका लागि सामी हेल्भटास संस्थाले रु १० करोड सहयोग गरेको सहायक निर्देशक पौडेलले जानकारी दिनुभयो ।
सामान्यतयाः नेपाली कामदारले बिना तालिम वैदेशिक रोजगारीमा जादाँ सम्बन्धित देशको ८०० पाउछन् भने तालिम पश्चात एक हजार ५०० को हाराहारीमा पाउने बताइन्छ ।