गोरखा– नेपाली कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेलाई सुशील कोइरालाको सचिवालय बाट माघ २१ गते बिहानै फोन आयो । फोन गर्नेले सभापति तपाईसँग कुरा गर्न चाहनुहुन्छ भने ।
तर बिचमै फोन काटियो, पछि उतैबाट फोन आयो । फोनवार्ताका क्रममा भएको कुराकानी सम्झेर घले छिनमै रोमाञ्चित हुन्छन्, फेरि एकैछिनमा भावुक हुन्छन् । माघ २२ गते देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन थियो ।
त्यसको अघिल्लो दिन सचिवालय मार्फत फोन गर्न लगाएर सुशील कोइरालाले के भनेका थिए त ? घले भन्छन् ‘उहाँले सबैलाई मिलाएर महाधिवेशन प्रतिनिधि छान्नु र जिल्ला कार्यसमिति पनि सहमतिमै बनाउन पहल गर्न भन्नुभयो ।’
तर घलेले कोइरालाको कुरामा प्रतिवाद गर्दै अरु पदमा जे जे भएपनि जिल्ला सभापति यो पटक पनि आफूनै हुने बताए ।’सुशील दाइ, अरु कुरामा म मिलाउँछु, तर मिल्ने र मिलाउने नाममा मलाई सभापति नउठेस् नभन्नुहोला’ संस्थापन पक्षका र विशेष गरी कोइरालाका असाध्यै प्रिय नेता घले भन्नुहुन्छ ‘मैले २५ गते चुनाव जितेर २६ गते तपार्इंलाई भेट्न काठमाडौं आउँछु भनेको थिएँ ।
’तर संयोग कस्तो भयो भने कडा प्रतिस्पर्धाका बिच सभापतिमा दोस्रो कार्यकालका लागि चयन भएका घलेले चुनाव जितेको नतिजा आउनु र कोइरालाको निधन हुनु लगभग एकै समयजस्तो भयो ।
सदरमुकाम गोरखा बजारमा रहेको जिल्ला पार्टी कार्यालयमा भएको मतगणनाको परिणाम सार्वजनिक भएपछि एकैछिन कार्यालय पुगेका घले केही बेरमै नजिकै रहेको डेरामा फर्किए ।
डेरामा फर्केर सुत्ने तर्खर गर्दैगर्दा राति पौने २ बजेतिर उनले त्यो दुखद खबर थाहा पाए । जिल्ला अधिवेशनका क्रममा सदरमुकाममै रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई फोन गरेर खबर सुनाए, पाण्डेले औपचारिक रुपमा खबर नआउञ्जेल हल्ला नगर्न भनेपछि उनी मनमनमा अनेक कुरा खेलाउँदै बसिरहे ।
‘सुशील दाइसँग भएका अनेक भेटघाट र कुराकानीहरु सम्झिएँ’ घलेले भन्नुभयो ‘कति पटक उहाँसँग झगडा गरियो, कति पटक घुर्काइयो, दोस्रो पटक सभापति निर्वाचित भएर भेट्न आउँछु भनेको थिएँ, सबै त्यस्तै भो ।’गोरखा कांग्रेसका सभापति घले त्यस्ता भाग्यमानी नेता हुन् जो कांग्रेसको केन्द्रीय राजनीतिमा नपुगेपनि कोइरालासँग सिधा सम्पर्कमा थिए ।
‘प्रधानमन्त्री भएका बेला पनि म भेट्न गएँ भने बालुवाटारमा होस् वा सिंहदरबारमा, उहाँसँग सहजै भेटघाट हुन्थ्यो ।’घलेकै आग्रहमा कोइराला कांग्रेसको जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्न जिल्ला आएका थिए । त्यसो त गएको जेठ २१ गते नै कार्यालय उद्घाटन गर्न आउँछु भनेका कोइराला प्रधानमन्त्रीको जिम्मेवारीमा समेत रहेका कारण आउन सकेनन् ।
दोस्रो पटक पुष १८ गतेको मिति तोकियो र घलेले पार्टी कार्यालय निर्माणमा सघाएकालाई दिने प्रशंसापत्रमा हस्ताक्षर समेत गरेर ल्याएका थिए ।पोखरामा भएको कार्यक्रमबाट गोरखा आउने योजना बनाएका कोइराला सिधै काठमाडौं फर्किए ।
त्यसपछि भएको फोनवार्ता सम्झँदै घले भन्छन् ‘मैले सिधै फोन गरेर, तपाईं गोरखा नआउने भए तपाईंले हस्ताक्षर गरेको प्रमाणपत्र अभिलेखका रुपमा कार्यालयमा राखेर अर्कैलाई प्रमुख अतिथि बनाउँछु ।’आफूले असाध्यै मन पराएका कार्यकर्ताले घुक्र्याएपछि कोइराला पुष २७ गते एकता दिवसको दिन जिल्ला आएर पार्टी कार्यालयको उद्घाटन गरे, हतार हतार फर्फिएका कोइरालाले त्यतिबेला भनेका थिए ‘तपाईहरुसँग मैले भन्नुपर्ने कुरा धेरै छ, अर्को पटक आएर धेरै कुरा गरौंला ।’
त्यसो भनेर फर्किएका कोइराला अब कहिल्यै गोरखा आउँदैनन् भन्ने सम्झँदा पनि सभापति घले निसासिन्छन् ।खासमा नेता कृष्णप्रसाद भट्टराई मार्फत कांग्रेसका शीर्ष नेतासँग जोडिएका गोरखा बारपाकका हरिबहादुर घले र उनको परिवारपछि पार्टीको महामन्त्री भएका बेला कोइरालासँग नजिकिएको थियो ।
पहिलो कार्यकाल सभापति भएका बेला सिन्धुपाल्चोकमा भएको पार्टी सभापतिको भेलापछि एउटा प्रसँगमा आफूले कोइरालासँग बाझाबाझ नै गरेको प्रसँग सम्झिँदा घले अहिलेपनि ग्लानी महशुस गर्छन् । कारण, पार्टीको जिल्ला सभापतिले त्यस्तरी हप्काउँदा पनि उहाँले गम्भीर भएर कुरा सुनिरहनुभएको रहेछ ।
कोइरालाको सादगी जीवनशैलीबाट प्रभावित घले आफूलाई पनि त्यही अनुसार ढाल्ने अभ्यासमा छन् । व्यक्तिगत सुखसुविधा र सरसम्पत्तिप्रति घलेलाई पनि खासै मोह छैन । कोइरालासँगको पटक पटकका भेटघाटमध्ये के कुरा घरिघरि सम्झनुहुन्छ भनेर सोध्दा घलेले एउटा प्रसँग सम्झिए ।
त्यतिबेला कोइराला र हालै दिवंगत अर्का नेता वीरेन्द्र दाहाल काठमाडौंमा सँगै डेरा गरेर बस्नुहुँदो रहेछ ।घले गोरखाको मनकामना दर्शन गरेर, दुई कार्टुन सुन्तला कोसेली बोकेर कोइरालालाई भेट्न काठमाडौं गएछन् । ‘त्यतिबेला उहाँहरुको डेरा भएको घरमा प्रेस पनि थियो’ घले सम्झन्छन् ‘प्रेसमा दुई तीनजना तराई मूलका भाइहरु काम गर्थे र कोइराला तथा दाहाललाई सघाउँथे पनि ।
’घले डेरामा पुगेको त्यो दिन कोइरालाको भान्छामा नुन सकिएको रहेछ । भान्छामा काम गर्ने सहयोगी नुन किन्ने पैसाको लागि दाहाललाई भन्दा रहेछन्, दाहाल कोइरालासँग माग्नु भन्नुहुँदो रहेछ, अनि कोइराला दाहालसँग ।‘मलाई लाग्यो, दुबैजनासँग पैसा छैन, अनि मैले नुन किन्ने पैसा दिएको थिएँ ।’
जिल्ला सभापति जितेपछि माघ २६ गते काठमाडौं आएर तपाईलाई भेट्छु भनेका घले एकदिनपछि अर्थात माघ २७ गते बिहानै काठमाडौं त जाँदैछन्, तर जसलाई भेट्न आउँछु भनेका थिए, उनैलाई श्रद्धाञ्जली चढाउन । किरण लोहनीले उज्यालो अनलार्इनमा खबर लेखेका छन्।