गोरखा- मुच्चोक गाविसमा सन २०१२ देखि विभिन्न क्षेत्रमा कार्य गर्दै आएको हरियो वन कार्यक्रमले गत वैशाख १२ गतेको विनाशकारी भुकम्प पश्चात् थप विकास र पुनर्निर्माणका कार्यहरु गर्न थालेको छ ।
जैविक विविधता संरक्षण, दिगो भूपरिधी व्यवस्थापन तथा जलवायु परिवर्तन र अनुकुलन मुख्य उद्देश्य तथा सुशासन, जिविकोपार्जन, लैङ्गिक सामाजिक समावेशिकरण जस्ता सवाललाई सहायक उद्देश्य बनाएको यस कार्यक्रमले यु एस आइ डि को आर्थिक सहयोगमा विश्व वन्यजन्तु कोष, सामुदायिक बन उपभोक्ता महासङ्ग, केयर नेपाल, राष्ट्रिय प्रकृति सम्रक्षण कोष लगायतका कार्यान्वयन संस्थाहरु अन्तर्गत कार्यक्रमहरु संचालन गर्दै आएको हो ।
हरियो बन कार्यक्रम अन्तर्गत हरित पुनर्लाभ र पुननिर्माण, केयर नेपाल, श्री स्वारा सघन गाउँ विकास केन्द्रले गोर्खाको बार्पाक, मुच्चोक, सौरपानी र सिमजुङ गरि चार गाविसमा संचालित खानेपानी मर्मत,गोरेटो बाटो मर्मत र सिचाइ -कुलो मर्मत तथा साना चौपाया पालन गरी अति विपन्न, दलित, भुकम्पबाट प्रभावित घरधुरी, एकल महिला, जनजाति, लैङ्गिक हिंसाबाट प्रभावितहरुको जीविकोपार्जन सुधार योजनामा केन्द्रीत भइ कार्य गर्दै गरेको हरियोबन हरित पुनर्लाभ र पुनर्निर्माण कार्यक्रम मुच्चोकका सामाजिक परिचालक एक बहादुर बुढाथोकि मगरले जानकारी दिनु भएको छ ।
यसै कार्यक्रम अन्तरगत मुच्चोक गाविसमा गोरेटो बाटो मर्मत,सिचाइ र खाने पानीका मर्मतका कार्यहरु संचालन गर्दै आएको छ । मुच्चोकको चतुर्माला उमाविदेखि घैयाबन हुँदै रातमाटासम्म गोरेटो बाटो मर्मत सम्पन्न भइसकेको, ताराचन्द्र मावि कुशुण्डे देखि मादलेसम्म, साब्दुरदेखि दारबोटेसम्म, चतुर्माला उमाविदेखी झ्याल्लफाटसम्म, चतुर्मालादेखी ओलाङ सिउरेनी हुँदै मुच्चोकटारसम्म, कुशुण्डेदेखी मुच्चोकको साउनेडाडासम्म, धारापानीदेखी सिलिमेसम्म, ढड्यानदेखी सिम्लेपधेरासम्म लगायत गाविस भरका विभिन्न गोरेटो बाटाहरु मर्मत भइरहेको छ ।
विभिन्न विशेष त निम्न हैसियतका कम्तिमा ५० प्रतिशत महिला, एकल महिला, अति विपन्न तथा फरक शारीरिक क्षमता भएका व्यक्तिहरु सम्लग्न हुने गरि उनिहरुको आय आर्जन बढाइ जिविकोपार्जनलाई सहज तुल्याउन जिल्ला दैवीप्रकोप उद्द्वार समितिले तोकेको ज्याला दर अनुसार प्रती दिन प्रती व्यक्ति रुपैयाँ ५१० र खाजा खर्च बापत ९० गरि रुपैयाँ ६०० बाट १ प्रतिशत सामाजिक सुरक्षा कर कट्टा गरि जम्मा ५९४ रुपैयाँ उपलब्ध गराउने पनि कार्यक्रम स्रोतले जनाएको छ ।
अन्य पाँच सिचाइ र दुई खानेपानीको योजनाहरु पनि इन्जिनियरहरुबाट सर्वे भइसकेको र रिपोर्ट आउन बाकी रहेको पनि जानकारि प्राप्त भएको छ । भुकम्प पश्चात् क्षतबिक्षत भएको सिचाइ, खाने पानी, तथा गोरेटो बाटो मर्मतमा ज्याला सहित आफैंले विकास कार्यमा सहभागी हुन पाउँदा क्रमशः भुकम्प,बाढी पहिरो, चिसो अनि अहिले परिरहेको खडेरिले याकुलव्याकुल परिरहेका मुच्चोकवासिमा खुशी अनि आशा पलाएको छ ।