गाेरखा- ‘नेपालीले सक्छौँ’ अभियान अन्तरगत नेपालकै दोस्रो सामुदायिक पुस्तकालय गोरखाको ताकुकोटमा बन्ने भएको छ । रिड सूचना तथा स्रोत केन्द्रको अग्रसरतामा काभ्रेमा बनेको सामुदायिक पुस्तकालयको सफलता पश्चात ताकुकोटमा पनि पुस्तकालय बन्न लागेको हो ।
यस अभियान अन्तर्गत पुस्तकालयको आफ्नै भबन निर्माण हुनेछ जहाँ दीगोपनका लागि बिभिन्न परियोजनाहरु समेत संचालन हुनेछ । पुस्तकालयमा पुस्तकालय कक्ष, सूचना प्रविधि कक्ष, श्रब्यदृश्य कक्ष, कम्प्यूटर कक्ष, महिला कक्ष, कृषि कक्ष, बैठक हल र बालकक्ष रहने छ ।
ताकुकोटमा पुस्तकालय सञ्चालनका लागि ताकुकोट मै समिति बनाएर कार्य अगाडी बढिसकेको छ भने जसमा गोरखा ताकुकोट सेवा समाज, काठमाडौँले अग्रणी तथा समन्वयकारी भूमिका खेलिरहेको छ ।
कार्यक्रमको सुरुवात स्वरुप ताकुकोट गा.वि.स.को कार्यालयले पनि आर्थिक वर्ष २०७३/७४ को बजेट बाट रु ३ लाख बिनियोजन गर्ने निर्णय गरिसकेको गा.वि.स. सचिव गोपाल कृष्ण सुवेदीले बताए ।
यसअघि काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल कै पहिलो सामुदायिक पुस्तकालय ज्ञान विकास सामुदायिक पुस्तकालय बनिसकेको छ । सो पुस्तकालय रिड सूचना तथा स्रोतकेन्द्रको अग्रसरतामा २०७१ भदौमा निर्माण सम्पन्न भएको थियो ।
‘सुदृढ र दीगो सामुदायिक पुस्तकालयको उपस्थितिले सामुदायिक विकासमा टेवा पुग्छ भन्ने मान्यताका साथ पुस्तकालयप्रेमीहरुकै अग्रसरतामा यो अभियान अगाडी बढाइएको हो ।’
रिड नेपालका राष्ट्रिय निर्देशक संजना श्रेष्ठ भन्छन्, ‘खासगरी ग्रामिण भेगमा साक्षरता प्रवद्र्धनका साथै पुस्तकालय सँस्कृतिको विकास गर्नु अभियानको मुख्य उद्धेश्य हो ।’
पुस्तकालयले समुदायको सामाजिक, आर्थिक, शैक्षिक लगायतका विकाससँग सम्बन्धित गतिविधिहरु हुने उनको भनाइ छ ।यो अभियानमा नेपाली नागरिक वा नेपाली संघसंस्था जो कोही पनि स्वतस्फुर्त रुपमा सहभागि हुन सक्ने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसमा आबद्ध हुन चाहने हरेक सदस्यले दैनिक १५ का दरले बार्षिक ५,५५५ बुझाउनु पर्दछ । पहिलो चरणमा ५ बर्षभित्र ७०० जना सदस्यले सहयोग गर्नुपर्छ ।
जसबाट बार्षिक ३८ लाख ८८ हजार ५०० जुटाउन सकिन्छ । जुन रकम भबन निर्माणमा मात्र खर्च गरिनेछ । तोकिएको रकमभन्दा कम सहयोग गर्नेहरु पुस्तकालयका शुभेच्छुक, तोकिएको रकम दिनेहरु सदस्य तथा त्यसभन्दा बढी दिनेहरु साझेदार हुनेछन् ।
एउटा पुस्तकालयका लागि १ करोड ३० लाख चाहिने केन्द्रका कार्यक्रम अधिकृत चिनकाजी श्रेष्ठको भनाइ छ ।
उनका अनुसार सदस्यहरुबाट संकलन भएको रकमबाट नपुग हुन आउने ३१ लाख ११ हजार ५०० समुदायबाट जुटाउनु पर्दछ । समुदायका सदस्यहरुले नै पुस्तकालयको रेखदेख र आबश्यक सरसल्लाह दिने भएकोले पुस्तकालयप्रति अपनत्वको भाबना विकास हुने उनको आशा छ ।
यो अभियान अन्तर्गत भबन निर्माणका लागि पुस्तकालयप्रेमी र स्थानीयको सहयोग त छदैछ, साथै नर्बेस्थित नर्बेजियन एमेचर थियटरका तर्फबाट ८० लाख संकलन गरिने छ । यसका लागि हेलेन हेन्सेनले त्यस क्षेत्रमा पुस्तकालयका लागि एक कप कफी अभियान नै शुरु गरेका छन् ।
जुन अभियानबाट बालकक्ष र पुस्तकालय कक्ष स्थापना गरिनेछ ।पुस्तकालयका लागि सहयोग गर्ने स्वदेशी बिदेशी व्यक्ति वा संघसंस्थाले आफ्ना अनुभब र सीप समेत सहयोग गर्न सक्ने केन्द्रले जनाएको छ ।
यसैगरी साझेदारहरु चाँही कुनै व्यक्ति वा संघसंस्था बन्न सक्छन् जसले नगद र पुस्तकालयका लागि आबश्यक अन्य सामग्री सहयोग गर्नेछन् ।
उदाहरणका लागि त्यस्ता व्यक्ति वा संघसंस्थाले पुस्तकालयका बिभिन्न कक्ष, दीगोपनका परियोजना समेत संचालन गर्न सक्नेछन् । रिड नेपालका राष्टिय निर्देशक संजना श्रेष्ठ यो अभियानबाट हरेक बर्ष एउटा पुस्तकालय बनाउन सकिनेमा आशाबादी छन् ।