दमौली- युवा वैज्ञानिक विकल्प ढुंगानाले सोलारबाट चल्ने स्कुटर बनाएका छन् । दमौली निवासी ढुंगानाले नेपालमै पहिलो पटक सोलार प्यानल राखी स्कुटर संचालनमा ल्याएका हुन् ।
दुई वर्षको मिहिनेतपछि सोलारबाट स्कुटर संचालनमा ल्याउन सफल भएको ढुंगानाले बताए । पेट्रोल बिना चल्ने स्कुटरमा जडान गरिएको सोलारले ६० किलोमिटरसम्म माईलेज दिने ढुंगानाले बताए ।आफ्ना़ो आमाको नामबाट ढुंगानाले उक्त स्कुटरको नाम विष्णु सोलार स्कुटर राखेका छन् ।
सोमबार आफ्नो आमाको जन्मदिन परेकोले स्कुटर सार्वजनिक गरेको उनले बताए । उनले आफूले नयाँ काम गर्न चाहेको तर राज्यले सहज वातावरण नबनाएको गुनासो गरे । उनले प्रधानमन्त्री केपी शार्मा ओलीलाई पनि भेटेको स्मरण गर्दै आस्वासन मात्र पाएको बताए ।
विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको जसबाट मौसमको जानकारी लिन र हराएमा लोकेशन हेर्न सकिने छ । स्कुटर लगातार ६० किलोमिटरसम्म गुड्न सक्ने ढुंगानाले जानकारी दिए ।
उक्त स्कुटरको सोमबार काठमाडौमा विज्ञानमन्त्री शिवलाल थापाले शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापालेविदेश पलायन उर्जाशील वैज्ञानिकहरुलाई स्वदेशमै ज्ञान र कला प्रयोग गर्ने सक्ने वातावरण निर्माण गर्न मन्त्रालय लागिपरेका बताएका छन् ।
उनले भविश्यमा विज्ञान प्रविधि क्षेत्रमा लाग्न सक्ने नाकाबन्दीको मुकाबिला गर्न सक्ने गरी आफू अगाडि बढेको बताए ।
मन्त्री थापाले अनुसन्धानकर्ता ढुङ्गाना जस्ता हजारौं उर्जशील युवाहरुलाई नेपालमै अध्ययन र अनुसन्धान गर्ने वातावरण बनाउन आफू लागि परेको बताए ।