गोरखा- नयाँ शक्ति अभियानका संयोजक डा वावुराम भट्टराईको गृहजिल्ला गोरखामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको आन्तरिक छलफल तथा प्रशिक्षणका लागि भन्दै शुक्रवार साँझ आइपुगेका छन् ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मुख्य सचिव हितराज पाण्डे, प्रदेश नम्वर चारका संयोजक डिलाराम आचार्य, चार नम्वरका सचिव हरि अधिकारी, केन्द्रीय सदस्य राजकाजी गूरुङ , अमर तमु , सभासदहरु कृष्ण धिताल , छम वहादुर तमु लगाएतका नेताहरुका साथ प्रचण्ड गोरखा आएका हुन् ।
गोरखामा नयाँ शक्ति अभियान गठन गरे लगत्तै आफ्ना स्वकीय सचिव चुडामणि खड्का ‘प्रकाश’लाई जिल्लाको इन्चार्ज वनाएर पठाएका प्रचण्डले उनकै आग्रहमा कार्यकर्ता पंशिक्षणको लागि गोरखा आएको स्रोतले वताएको छ ।
शुक्रवार गोरखा आउने क्रममा उनको भव्य स्वागत समेत गरिएको छ । रंगशाला चोकदेखि होटल मिराकलसम्म करिव सय मिटरको दुरीमा एमाओवादी समर्थित नेता तथा कार्यकर्ता उनको स्वागतका लागि हातमा फुलमाला र खादा लिएर वसेका थिए ।
सदरमुकाम आउने क्रममा उनले गोरखा नगरपालिकाको १० किलो , १२ किलो , लक्ष्मीवजारमा गाडीवाट ओर्लिएरै शुभेच्छुकसंग छलफल गर्नुका साथै संक्षिप्त मन्तव्य समेत राखेका थिए ।
उक्त ठाउँहरुमा उनको स्वागतका लागि सयौ कार्यकर्ता जम्मा भएका थिए भने घर घरमा घडा समेत थापेको देखिन्थ्यो ।
‘वावुरामको शक्ति गोरखामा कमजोर वनाउने उद्देश्यका साथ जिल्ला नेतृत्वको निर्देशनमा त्यसो गरिएको हुने सक्छ ।’ एकजना नयाँ शक्ति समर्थित पुराना माओवादी नेताले टिप्पणी गरे ।
प्रचण्डको स्वागतमा आएका कतिपय भने वावुरामको नयाँ शक्तिको भेला तथा वैठकमा सहभागी हुने पनि थिए ।
समानान्तर समिति गठन गरेर वावुरामले एमाओवादी पार्टी चलाउँदा वावुरामका जिल्ला अध्यक्ष वनेका यान प्रसाद भट्ट सरोज पनि कार्यक्रममा देखिएका थिए ।
‘वावुरामको वुद्धिजीवी भेलामा देखिएका अधिकांश अनुहार प्रचण्डको स्वागतका लागि आउनुले वावुराम गोरखामा कमजोर भएको प्रमाणित गर्छ’ एक एमाओवादी नेताले दावी गरे । प्रचण्डले शनिवार जिल्लाका वुद्धिजीवी , कार्यालयका प्रमुख , पत्रकार तथा पार्टीका कार्यकर्तासंग भोलि दिनभर छुट्टाछुट्टै भेटघाट तथा छलफल गर्ने एमाओवादी गोरखाले जनाएको छ ।