गोरखा- खानेपानीको चरम अभाव रहेको गोरखाको ताकुकोट गा.वि.स.मा करिब एक करोडको लागतमा खानेपानी योजना निर्माण भएको छ ।
ताकुकोटको वडा नं. १ मा रहेको माइकोट माध्यमिक विद्यालयका विद्यार्थी र वरपरका झण्डै ८० घरधुरीलाई समेटी योजना निर्माण भएको हो ।
रोटरी इन्टरनेसनलको ग्लोबल ग्रान्ट कार्यक्रम अन्तरगत रोटरी क्लब अफ गोरखा र रोटरी क्लब अफ ल्यानसायर, यू.के.को पार्टनरसिपमा रोटरी क्लब अफ चर्च एण्ड ओल्डट्विस्टल लगायतका इङ्ग्ल्याण्डका रोटरीहरुको आर्थिक सहयोग तयार भएको सो योजनाको औपचारिक उद्घाटन भएको छ ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का एजि पवन रमण खनाल, रोटरी क्लब्स अफ ल्यानसायरका तर्फबाट जर्ज ब्लेन्किन्सिप र रोटरी गोरखा आइपिपि तथा प्रोजेक्ट संयोजक नकुल थापाले संयुक्त रुपमा ताम्रपत्र खोलेर योजनाको समुद्घाटन गरेका हुन् ।
माइकोट माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा माइकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्रकुमार श्रेष्ठको सभापतित्व रहेको थियो ।
यसै गरी स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।समुदाय भन्दा करिब ३०० मिटर तल रहेको बाँसपानी मूलबाट पानी लिफ्टिङ गरी तानिएको हो । मूहान र गाउँको माथि गरी दुई ठाउँमा ठूलो ट्याङ्की निर्माण गरी विद्यालय तथा गाउँमा खानेपानी वितरणको व्यवस्था मिलाइएको छ ।
विद्यालयमा ५ धाराका साथै गाउँका ७३ घरधुरीमा प्रतिघर १ धारा जडान गरिएको उपभोक्ता समितिका सचिव अर्जुन कुमार सुवेदीले जानकारी दिए ।सो योजना अन्तरगत माइकोट माध्यमिक विद्यालयमा सुविधासम्पन्न पक्की शौचालयको समेत व्यवस्था गरिएको छ ।
योजनाका लागि रोटरी क्लबको ७१ लाख आर्थिक सहयोगका साथमा स्थानीयको झण्डै ११ लाख ५० हजार बराबरको जनश्रमदान समेत रहेको छ ।
साथै खानेपानी लिफ्टिङको मेसीन सञ्चालनका लागि स्थानीय लघु जलविद्युत पर्याप्त नभएपछि थप १३ लाख ३० हजारको लगानीमा केन्द्रीय विद्युतको लाइन योजना स्थलसम्म विस्तार गरिएको योजनाका संयोजक नकुल थापाले जानकारी दिए ।
योजनाको समुद्घाटन भएपनि बाँकी रहेका निर्माणका केही कार्यहरु पश्चात उपभोक्ताहरुलाई योजना प्रयोग तथा संरक्षण सम्बन्धी तालिमहरु प्रदान गरिने थापाले बताए ।
सोही कार्यक्रमा ताकुकोटका स्थानीय बासिन्दा समेत रहेका राष्ट्रिय कलाकार मरिचमान श्रेष्ठले केही वर्ष अघि गोरखामा कार्यक्रम गरी संकलन गरेका ५० हजार नगद खानेपानी उपभोक्ता समितिलाई उपलब्ध गराएका थिए । समितिले सो रकम भूकम्प पश्चात क्षतिग्रस्त बनेको माइकोट मा.वि.लाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा यू.के.बाट माइकोट मा.वि.का विद्यार्थीहरुका लागि ल्याइएको शैक्षिक तथा खेलकुदका सामाग्री विद्यालयका प्रधानाध्यापक रमेश सुवेदीलाई हस्तान्तरण गरिएको थियो ।
साथै योजनामा सहयोग पु¥याउनुहुने हरिश्चन्द्र भट्ट, निर्मल धिताल लगायतलाई सम्मान समेत गरिएको थियो । सन् २००८ मा हरिश्चन्द्र भट्ट संगै ताकुकोट घुम्न पुगेका इङ्ग्ल्याण्डका नागरिक क्लाउस बङको पहलमा नै सो योजना सम्भव भएको थियो । उद्घाटन संगै पानीको अभावएक करोडको लागतमा खानेपानी योजना निर्माण गरिए पनि पानी ल्याउने मूलमा नै पानी सुकेपछि ‘पानी’ को भन्दा ‘धारा’ को उद्घाटन भएको छ ।
ताकुकोटका स्थानीय उपभोक्ता थम बहादुर खत्री भन्छन्, ‘एक करोडको योजनामा हप्तौँ सम्म हामी आफै गएर श्रमदान गरियो, पानीको धारा घरमा ल्याइयो तर पानी आउन सकेन ।’
ताकुकोट १ का करिब ६० घरधुरीले दैनिक रुपमा प्रयोग गरेर पनि निरन्तर रुपमा खेर जाने बाँसपानी मूलको पानी देखेर नै सो खानेपानी योजनाको सुरुवात गरिएको थियो ।
झण्डै २ वर्ष अगाडीबाट नै योजना अगाडी बढाइए पनि गत वर्षको माघको अन्त्यबाट मात्र कामको सुरुवात भएको थियो । सुरुमा ४ महिनामा काम सम्पन्न गर्ने लक्ष्यमा साथ अगाडी बढाइए पनि विनाशकारी भुकम्पका कारण काम रोकिएको थियो । त्यसलगत्तै सुकेको पानीको मूल वर्षायाममा पर्याप्त पानी नपरेपछि झन् सुक्दै गएको हो ।
एक करोडको योजनामा निर्माण गरिएको संरचनालाई खेर जान नदिन र स्थानीयको खानेपानीको समस्या समाधानका लागि अहिले बाँसपानी मूल नजिकका अन्य वैकल्पिक मूलहरुको अध्ययन भइरहेको प्रोजेक्टका संयोजक रोटरी गोरखाका आइपिपि नकुल थापा बताउँछन् ।
‘यति ठूलो रकम लगानी गरेर बनाइएको योजना खेर नजाओस् र स्थानीयले पानी उपभोग गर्न पाउन् भन्नेमा सम्पूर्ण रोटरी चिन्तित छ’ थापा भन्छन् ।
वैकल्पिक मूलको टुङ्गो लाग्ने बित्तिकै सो मूलको पानी बाँसपानीमा रहेको मुख्य ट्याङ्कीमा मिसाउने कार्यका लागि गृहकार्य अगाडी बढिसकेको उनले बताए ।