गोरखा- भूकम्पले क्षति पु¥याएपछि बन्द भएको गोरखाको सिम्जुङस्थित पात्लेखोला लघुजलविद्युत परियोजना पुनः सञ्चालनमा आएको छ । लघुजलविद्युत पुनः सुचारु भएपछि गाविसका करिब २ सय घरधुरी लाभान्वित भएका छन् ।
गत बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले कुलो भत्किएपछि बन्द भएको परियोजना करिब ११ महिनापछि फेरि सुचारु भएको हो ।१६ किलोवाट क्षमताको विद्युत बन्द भएपछि सिम्जुङ १, २ र ७ नं. वडाका उपभोक्ताहरु अँध्यारोमा बस्न बाध्य थिए ।
भूकम्पपछि हरियो वनको आर्थिक सहयोगमा विद्युत सञ्चालनमा आएको पात्लेखोला लघु जलविद्युत परियोजनाका अध्यक्ष भगवानसिंह गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार हरियो वनको करिब ३ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग तथा उपभोक्ताहरुको जनश्रमबाट विद्युत पुनः सुचारु भएको हो ।
२०६५ सालमा जिल्ला जलश्रोत समितिमा दर्ता गराई २०६६ बाट सुरु भएको परियोजनाको काम २०६८ माघमा सम्पन्न भएपछि पहिलोपटक सिम्जुङबासीले विजुली बाल्न पाएका थिए ।
त्यतिबेला करिब ४८ लाख रुपैयाँको लागत र स्थानीय उपभोक्ताको जनश्रामबाट विद्युत सञ्चालनमा आएको थियो । गाउँमा विद्युत नहुँदा गाउँलेहरु विद्युतका साथै सञ्चार सेवाबाट पनि टाढिनुपरेको थियो ।
अहिले गाउँमा विजुली बलेपछि मोवाईल चार्ज गर्न, एफएम रेडियो सुन्नका साथै अन्य कामकाजमा पनि सहज भएको स्थानीय उपभोक्ता शेर गुरुङले जानकारी दिए।
जिल्लाका प्रभावित क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द भएपछि टुकीको सहायतामा बस्दै आएका स्थानीयबासीहरु उज्यालो पाएपछि खुशी भएका छन् ।