गोरखा- भुकम्पले आहात भएका ६ गाविसका करिव चौधसय परिवारलाई इको नेपाल नामक एक गैर सरकारी संस्थाले विउ पूजीको रुपमा व्यवसाय संचालनमा सहयोग गर्ने उद्देश्यका साथ साँढे सात हजारका दरले आर्थिक सहयोग उपलव्ध गराएको छ ।
विनाशकारी भूकम्पपछि आर्थिक रुपमा पछाडि परेका घरपरिवारको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यका साथ तीनिहरुलाई पहिलो किस्तावापत उक्त रकम सहयोग गरिएको इको नेपालले जनाएको छ ।
वातावरण तथा बाल सरोकार सस्था –नेपाल (इको –नेपाल) ले डयान चर्चएडको साझेदारीमा गोरखा जिल्लाका धावा,बगुवा,मकैसिंग, ताङ्गलीचोक, भुम्लीचोक र घ्याल्चोक गाउँ विकास समितिहरुमा दीर्घकालीन जीविकोपार्जनका लागि भन्दै प्रति परिवार ७ हजार ५ सयका दरले आर्थिक सहयोग उपलव्ध गराइएको संस्थाका जिल्ला कार्यक्रम अधिकृत आशिष देबकोटाले वताए ।
करिब १४०० घरधुरीलाई उनीहरुको आफ्नै योजना अनुसार व्यवसाय संचालनका लागि जीविकोपार्जनमा सुधार गर्न पहिलो चरणमा प्रतिपरिवार ७५०० रुपैयाँका दरले रकम वितरण गरिएको देबकोटाले बताए ।सं
स्थाले अफ्नो कार्यक्षेत्रमाभूकम्पबाट भएको क्षतिबाट परेको प्रभाव कम गरी समाजलाई पहिलेकै अवस्थामा पुनस्स्थापित गराउने सरकारी प्रयासमा सघाउने हिसाबले खासगरी खानेपानी सरसफाइ तथा स्वास्थ्य प्रबर्धन, मनोसामाजिक सहयोग, जीविकोपार्जन, विपद्व् व्यवस्थापन र आवास निर्माणमा प्राविधिक सहयोग गरी विभिन्न ५ क्षेत्रमा सहयोग कायृक्रम चलाउदै आएको संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेले बताए ।
अर्थिक सहयेगको रकम हस्तान्तरण गर्नुपहिले छनोट भएका जीविकोपार्जनको विषयगत समूहलाई जिल्ला पशु सेवा कार्यालयको सेवा केन्द्र र जिल्ला कृषि विकास कार्यालयको सेवा केन्द्रका तालिमप्राप्त प्रशिक्षकवाट प्रशिक्षित गरिएको थियो ।“ जीविकोपार्जन अन्तर्गत विभिन्न समुदायमा उनीहरु आफैंले छनौट गरेको व्यवसाय अनुसार तालिम आयोजना गरेर जीविकोपार्जनको कार्यक्रम अगाडि बढाउनु प्रशंशनीय कार्य हो ।
”पशु सेवा कार्यालयका भेटेनरी डाक्टर एवं प्रशिक्षक गोबिन्द श्रेष्ठ बताउछन् । इकोको सहयोगले आफूहरुलाई उत्साह थपेको ताङलीचोकका एक किसानले उत्साहित हुदै वताए । “रकम ठूलो नभए पनि यो विउ पुजीले तरकारी खेतीका लागि प्लाष्टिकको टनेल खरिदमा लगानी गर्ने योजना छ । ”ताङलीचोकका ती किसान छायाँदत्त पन्तले सुनाए ।
जीविकोपार्जनको लागि नगद हस्तान्तरण कार्यक्रम बैंक तथा सहकारी मार्फत् गरिएको थियो । कार्यक्रम अधिकृत देबकोटा भन्छन् , “ सहकारीको अवधारणा ल्याउनु भनेको जीविकोपार्जनलाई थप दीर्घकालीन बनाउने योजना हो ।”
सहकारीमा बचत गर्ने बानीको विकास हुनुका साथै पारिवारिक व्यवसायिक योजनाअनुसार अवश्यक पर्ने थप रकम ऋण लिएर भए पनि आफ्नो व्यवसाय विस्तार गर्न सक्ने देवकोटाको विश्वास छ ।
संस्थाका अध्यक्ष न्यौपानेका अनुसार बगुवा गाविसमा बगुवा सुनगाभा बचत तथा ऋण सहकारी, भुम्लिचोकमा भैरबी कृषि सहकारी, घ्याल्चोकमा सामुहिक कृषि उत्पादन सहकारी संस्थाको सहकार्य र धावा,मकैसिंग र ताङ्गलिचोकमा प्रभु बैकको प्रत्यक्ष संलग्नतामा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
उनका अनुसार व्यवसायतर्फ उन्मुख भई पहिलो किस्ताको रकम सदुपयोग गर्ने परिवारलाई अनुगमन पश्चात दोस्रो किस्तावापत थप त्यत्ति नै रकम आर्थिक सहयोग उपलव्ध गराइने योजना रहेको देवकोटाले वताए ।