गोरखा– जिल्लाको यातायात क्षेत्रमा सिन्डिकेट लाद्दै आएको यातायात व्यवसायी समिति गोरखाले एकाधिकार कायमै राख्न अनेक प्रपञ्च रच्न थालेको छ । दर्ता भएर सञ्चालनमा आउन लागेको आरुघाट यातायात प्रालिका बसहरू सञ्चालन हुन नदिन समितिले अनेक कसरत गरेको हो ।
प्रहरी प्रशासनकै संरक्षणमा गोरखा यातायातले बस सञ्चालन गर्न रोक्ने गरेको प्रालिका सदस्यहरूले बताएका छन् । ‘असोजमा बस किनेर ल्याएका हौं, अहिलेसम्म चल्न दिएका छैनन्,’ प्रालिका अध्यक्ष खड्कबहादुर घलेले भने, ‘चलायो भने तोडफोड गर्छन् ।’
मिलेर जानुपर्छ भन्दै प्रहरीले नै आफ्ना गाडीहरू सञ्चालन गर्नबाट रोक्ने गरेको उनले गुनासो गरे । ‘तपाईंहरूलाई पनि प्रहरी प्रशासन चाहिन्छ मिलेर जानुपर्छ भनेर गाडी चलाउन दिंदैनन्,’ उनले भने ।गाडी चलाउन खोज्दा प्रहरीले नै रोक्ने गरेको प्रालिका सदस्य रामबहादुर रोकाले जानकारी दिए ।
‘गाडी चलाउन खोज्दा प्रहरीहरू सुरक्षा दिनुपर्ने ठाउँमा तोडफोड भए सुरक्षा दिन सक्दैनौं भनेर रोक्छन्,’ उनले भने । समितिले ठूला राजनीतिक दलको संरक्षणमा प्रहरीलाई समेत दबाब र प्रभाव राख्ने गरेको छ ।प्रालिको दर्ता कागजपत्र नपुगेको भन्दै बिहीबार बैठक डाकेर बसहरू नगुडाउन प्रहरीले कागजपत्र गराइदिएको हो ।
प्रालि र गोरखा यातायातका पदाधिकारीलाई जिल्ला प्रहरी कार्यालयमा डाकेर ट्राफिक प्रहरी प्रमुख मीनबहादुर कुँवरको रोहवरमा तत्काललाई प्रालिका गाडी नचाउने कागज गराइएको छ ।
दर्ता भइसकेको प्रालिका गाडी गुडाउन नदिन समितिले प्रहरीमा कागजपत्र नभएको भन्दै उजुरी गरेको थियो । समितिकै योजनाअनुसार प्रहरीले प्रालिमाथि हस्तक्षेप गरेको रोकाले बताए । प्रालि दर्ता गरेर १० वटा बस ल्याएको भए पनि सञ्चालनमा आउन पाएका छैनन् ।सञ्चालन गरेका बेला दुईपटक गोरखा यातायात आबद्ध व्यवसायीहरूले तोडफोड गरिसकेका छन् ।
‘गाडी चलाए तोडफोड गर्ने र कुटपिट गर्ने धम्की दिन्छन्,’ प्रालिका सल्लाहकार ताराबहादुर खड्काले भने । कागजपत्र पूरा गरेमात्रै गाडी चलाउन दिने गोरखा यातायातका अध्यक्ष रामहरि केसीले बताए ।
‘अवैधानिक काम रोक्न खोजेका हौं,’ उनले भने । प्रहरी निरीक्षक शंकर आचार्यले विवादमा रहेका दुई यातायात समितिका प्रतिनिधिले प्रहरी कार्यालयमा छलफल मात्र गरेको बताए । प्रमुख जिल्ला अधिकारी नारायण भट्टले दर्ता भएर आएका प्रालिका बसहरू सञ्चालन हुन कसैले नरोक्ने दाबी गरे । ‘बस चलाउन मैले निर्देशन दिएको छु,’ उनले भने, ‘असुरक्षा भए सुरक्षा दिन्छौं ।’