गाेरखा- २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्प पश्चात् विद्यालयहरुको दयनीय भौतिक अवस्थालाई ख्याल गरि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको पोखरा स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थी संगठन (एग्बोसा) द्वारा मुच्चोक गाविसमा रहेका सबै विद्यालयहरुलाई फर्निचरको रकम हस्तान्तरण कार्यक्रम गरेको छ ।
उक्त संस्थाले भुकम्प पछिको शैक्षिक पुनर्स्थापना फर्निचर हस्तान्तरण कार्यक्रमको नामबाट सो सहयोग गरेको हो । गोर्खाको मुच्चोक गाविस वडा नम्बर ५ स्थायी घर भइ पोखरामा वस्नु हुने गण्डकी आवासीय मावि लामाचौरका पूर्व भाइस प्रीन्सिपल शिवलाल धितालको समन्वयमा आज श्री चतुर्माला उमाविमा विद्यालय परिसरमा एक विशेष कार्यक्रम गरी सो फर्निचरको रकम स्कुलका प्र अ तथा विव्यस अध्यक्षहरु मार्फत हस्तान्तरण गरिएको हो ।
चतुर्माला उमावि का विव्यस अध्यक्ष हरिकान्त देवकोटाको अध्यक्षता तथा गण्डकी आवासीय मावि पोखराका प्रीन्सिपल रवि प्रसाद बरालको प्रमुख आतिथ्यता तथा एग्बोसा (एग्बोसा) का सचिव कमल श्रेष्ठको विशेष आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका सह प्राचार्य कालिका प्रसाद अधिकारिले स्वागत मन्तव्यवाट स्वागत गर्नु भएको थियो ।
शिवलाल धिताल, रवि प्रसाद बराल, कमल श्रेष्ठ, शिक्षक संघ गोर्खाका अध्यक्ष तयराज गुरुङ, एकीकृत अखिल नेपाल शिक्षक संगठन का अध्यक्ष ध्रुव भट्ट, स्रोत व्यक्ती खिला शर्मा घिमिरे, चतुर्माला उमावि का प्राचार्य बुद्धी बहादुर बिक , मेड नेपालका कृष्ण कुमारी भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।
मुच्चोक गाविस भर रहेका विद्यालय का शिक्षक,विद्यार्थि, अभिभावक तथा राजनितीक दलका प्रतिनिधि लगायत सर्वसाधारणहरुको उपस्तिथिमा भएको उक्त कार्यक्रममा मुच्चोक गाविस भित्रका विद्यालयहरुको विद्यार्थि संख्याको आधारमा श्री चतुर्माला उमावि ३ लाख, ताराचन्द्र मावि १ लाख,मुच्चोकटार निमावि ६० हजार, जनप्रभात प्रावि ४० हजार, ज्ञान्ज्योति प्रावि ३५ हजार, झक्रपुरी प्रावि २५ हजार, देवि चतुर्माला प्रावि २० हजार, भालेढुङ्गा लक्ष्मी प्रावि २० हजार गरि ६ लाख रुपैया बराबरको चेक हस्तान्तरण भएको थियो अन्य शैक्षिक सामग्री पनि विद्यालयलाई प्रदान गरिएको थियो ।
गत वर्ष वैशाख १२ गतेको भुकम्पमा पुरिएर निधन भएका भुमिज्योति प्राविका शिक्षक हरिराम अधिकारिका छोरा छोरिको अध्ययनका लागी नगद रुपैयाँ बीस हजार पनि उहाँको परिवारलाई प्रदान गरिएको थियो ।यसै क्रममा प्रमुख अतिथी बरालले विद्यालयको शैक्षिक गुणस्तरका लागी सूचना तथा संचार प्रविधि र विद्यालयमा भर्खरै जडान गरिएको वाई-फाई को वार्षिक शुल्कमा लाग्ने रकम बराबरको आर्थिक सहयोग गर्न स्रोत जुटाउन पहल गर्ने पनि जनाउनु भएको छ ।
महाबिर पूनको प्रविधिमा आधारित भच्चेक बेस टावरवाट भर्खरै पोखरा मिलन समाजका संस्थापक समेत रहनु भएका गण्डकी आवासीय माध्यमिक विद्यालयका पूर्व सहायक प्राचार्य शिवलाल धितालको पहलमा चतुर्माला उमाविमा वाइ-फाइ जडान भएको हो । यसरी भुकम्पले थिलो थिलो बनाएको मुच्चोकवासिमा यस्ता दयालु सहयोगी हातहरुको फैलावटले अत्यन्त हर्षित वनाएको छ ।