गोरखा– जिल्लामा सक्रिय रहेको स्वाँरा सदन गैह्र सरकारी संस्थाले भूकम्प पीडितलाई मापदण्ड विपरीतका बाख्रा वितरण गरेको पाइएको छ ।
संस्थाले आफैँले सार्वजनिक गरेको सूचना विपरीत कम तौल भएका र रोगी बाख्रा भूकम्प पीडितलाई बाँडेको भेटिएको हो ।संस्थाले आफैँले न्यूनतम १२ केजी तौलका बाख्रा वितरण गर्ने भन्दै बाख्रा फर्म सञ्चालकसँग खरिदका लागि आवेदन मागेको थियो ।
तर फिल्ड कर्मचारीको मिलेमतोमा फर्मसँग बाख्रा खरिद नगरी स्थानीय बासिन्दासँग नै कम तौल भएका र रोगी बाख्रा खरिद गरी बाँडिएको छ । संस्थाले गोरखाको खोप्लाङ्ग, छोप्राक, गाँखु र हर्मीमा बाख्रा वितरण गरेको छ ।
वितरित बाख्रा बिरामी हुने र मर्ने समेत भएको छ । संस्थाले बाँडेको बाख्रा मर्न थालेपछि अनियमितता बाहिर आएको हो ।कसरी गरियो घोटाला ? स्थानीय स्रोतका अनुसार संस्थाका फिल्ड प्रतिनिधिले कम तौल भएका बाख्रा बाढेका थिए ।
आफूले प्रकाशित गरेको सूचनाअनुसार बाख्रा बाँड्दा एउटै बाख्राको न्यूनतम ५ हजार पर्ने भएकाले उनीहरूले आधा कम तौलको बाख्रा बाँडेर अनियमितता गरेका हुन् ।‘मापदण्डअनुसार बाख्रा बाँड्दा न्यूनतम ५ देखि ६ हजारसम्म पर्छ, तर फिल्ड कर्मचारी र कार्यक्रम निर्देशकको मिलेमतोमा २ हजारदेखि ३ हजार पर्ने बाख्रा बाँडेर बाँकी पैसा खाइएको छ,’ उनले भने ।
स्रोतका अनुसार यसरी कम तौलका बाख्रा बाँड्दा उनीहरूले ३ सय बाख्राबाट मोटो रकम हिनामिना गरेका छन् ।
संस्थाले भूकम्प पीडितलाई ३ सय बाख्रा बाँड्ने लक्ष्य लिएको थियो । प्रतिस्पर्धाको नाटक संस्थाले सुरुमा प्रतिस्पर्धा गराएर बाख्रा खरिद गर्ने घोषणा गरेको थियो । तर सूचना सार्वजनिक गरेपछि भने मिलेमतो गरी व्यक्तिका घरबाट बाख्रा किनिएको पाइएको छ ।
‘सुरुमा प्रतिस्पर्धा गर्ने भनेर फर्मवालाले एउटा बाख्राको प्रति किलो ३९० देखि ४ सयसम्म रकम राखेर आवेदन दिएका थिए, तर कसैले पनि बाख्रा आपूर्ति गर्ने ठेक्का नपाएपछि थाहा पाइयो, सबै काम नाटक भएको रहेछ,’ स्रोतले भन्यो ।यस बारेमा संस्थाका फिल्ड प्रतिनिधि श्रीकान्त पौडेलसँग बुझ्न खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन् ।