गाेरखा– ‘नेपालीले सक्छौँ’ अभियान अन्तरगत गोरखाको ताकुकोटमा बन्न लागिरहेको सामुदायिक पुस्तकालयको बारेमा आज ताकुकोटमा छलफल सम्पन्न भएको छ ।
ताकुकोट सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजना तथा गोरखा ताकुकोट सेवा समाज काठमाडौंको सहयोगमा ताकुकोट १ मा रहेको माइभगवती मन्दिर प्रांगणमा छलफल सम्पन्न भएको हो ।
पुस्तकालयका अध्यक्ष मोहप्रसाद पनेरुको अध्यक्षता तथा गोरखा ताकुकोट सेवा समाज काठमाडौंका अध्यक्ष हरिश्चन्द्र भट्टको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समाजका अध्यक्ष हरिश्चन्द्र भट्टले सम्पुर्ण ताकुको गौरवको रुपमा रहेको पुस्तकालय निर्माणका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताए । पुस्तकालय मात्र नभइ ताकुकोटको हरेक विकासका लागि निश्चित कार्य योजना बनाई सहयोगको माग भएमा सोही बमोजिम संस्थाले सहयोग गर्ने उनको भनाई छ ।
समाजका उपाध्यक्ष चुडाप्रसाद बस्ताकोटीले सामुदायिक पुस्तकालयको अवधारणा तथा योजनाका बारेमा जानकारी गराउदै सेवा समाजले पुस्तकालय निर्माणका लागि सहयोग जुटाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसै गरि सेवा समाजका सदस्य तथा संकल्प गोरखाका अध्यक्ष बुद्धि बहादुर खत्रीले पुस्तकालय स्थापनाका लागि मात्र नभई हरेक सामाजिक कार्यका लागि सबैले आआफ्नो स्थानबाट गर्न सक्ने सानो भन्दा सानो सहयोग पनि समाजमा ठूलो हुन सक्ने बताए ।
खत्रीले आफुले आफ्नो हरेक जन्मदिनमा पनौतीमा रहेको ज्ञान पुस्तकालयलाई रु एक हजार सहयोग गर्ने गरेको उदाहरण दिदै हरेक व्यक्तिले आफ्नो स्थान बाट सहयोग गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा माइकोट, सूर्यज्योती, अन्तरज्योती माविका प्रअहरु, विभिन्न संघसंस्थाका र राजनैतिक दलका प्रतिनिधिहरुले सामुदायिक पुस्तकालयको महत्वका बारेमा बताउँदै आफुहरुले पुस्तकालय निर्माणका लागि सक्दो सहयोग गर्ने बताए ।