गोरखा- गोरखा भूकम्प पछि आर्थिक अभाव झेल्दै हजारौं युवाहरु विदेश गईरहेका छन् । कैयन युवाहरु अझै पनि राहत र अवसरको पर्खाइमा गाउँमा बसिरहेका भेटिन्छन् ।
कतिलाई राजनैतिक दलहरुले स्थानीय निर्वाचनका लागि ढाल बनाउ थालिसकेका छन् । यसैवीच गोरखा बुंकोटका १० जना गाउँलेहरु मिलेर महिनामा दुईवटा भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेका छन् गोरखामा भन्दा पत्याउन मुस्किल पर्दछ ।एउटै घरका पाँच भाइ छोरा र बाबु समेत घर निर्माणमा एक साथ खटिएका छन् ।
बुंकोट वडा नं. ८ कुवापानी लाकुरी भञ्ज्याङका नाइके परियारका सात भाई छोरा मध्ये प्रेम बहादुर, राम बहादुर, सुनिल, गोरे र सन्तोष परियार बाबुसँगै काममा खटिएका छन् । उनका अन्य दुई भाई अर्को टिममा मिलेर काम गर्दछन् । गोरखा अश्राङका टिका प्रसाद भन्तनाले घर ठेक्का दिएको १२ दिनमा सम्पन्न गरेर बुंकोटका परियार दाजुभाईले बुझाएको बताए ।
सरकारले गाउँमा खटाएका इन्जिनियरले घर प्रमाणित गरिदिएपछि सरकारले दिने भनेको बाँकी किस्ता रकम लिन बाटो खुलेको भन्तनाले बताए । अश्राङमा उनीहरु घर बनाउन उनीहरुले १२ वटा घरको ठेक्का लिएका छन् । एउटै परिवारका छ सहित गाउँका इश्वर परियार, दिपु परियार, डिल बहादुर परियार र सुमन परियार गरी १० जना उनीहरुको घर निर्माण टिमका सदस्यहरु रहेका छन् ।
भूकम्प प्रभावित अधिकांशले एक तला गाह्रो र माथि तला काठले छेक्ने गरी घर निर्माण गर्न थालेका छन् । यतिबेला उनीहरु गोरखा पन्द्रुङमा घर निर्माणमा जुटेका छन् । जहाँ काम थाल्यो त्यहिका मानिसहरु मेरो पनि बनाईदिनुपर्यो भन्छन्, लिएको जिम्मा पुरा गरेपछि मात्रै हामी बोल्छौं भन्छन् टीममा रहेका मध्येका सुमन परियार ।
गाउँ घरमा दलित परिवार भन्ने वित्तिकै मागि हिड्ने र जथाभावि बोल्ने, खानपिनमा ध्यान नपुर्याउने समूहका मानिस भन्नेहरुका लागि उनीहरु उदाहरणका पात्र मात्रै बनेका छैनन् चेतना दिदैं हिड्ने सामाजिक परिचालक बनेका छन् । ढुंगा र माटोको काम गरेर आफ्नै घर गाउँमा बसी दैनिक एक हजार पाँचसय देखि दुई हजार पाँचसय सम्म आम्दानी गर्न उनीहरु सफल हुँदै आएका छन् ।
पूरानो घर भत्काउने र भूकम्प प्रतिरोधी नयाँ गाह्रो लगाउने जिम्माको काम उनीहरुले गर्दै आएका छन् । घर बनाउनेले भनेकै मूल्यमा एकमुष्ट ठेक्का लिएर घर बनाउने गरेको नाइके परियार बताउँछन् । यतिबेला जिल्लामा अधिकांशले घर निर्माणका काम थालेका छन् । ज्यामी पाउन कठिन र पाई हाले पनि महंगो मुल्य तिर्न भूकम्प पिडितहरु बाध्य रहँदै आएका छन् ।
भूकम्प प्रभावितका घर निर्माण गर्नका लागि तालिम लिएका डकर्मी सिकर्मीहरु राजनैतिक पार्टीका कार्यकर्ता, गाउँका शिक्षकहरु भएको र उनीहरुले घर बनाउन सहयोग नगर्दा गाउँमा यतिबेला थप समस्या परेको गाउँलेहरुले बताउने गरेका छन् । हातमा सीप भएपछि काम गर्न सजिलो भएको र विदेश जाने सपना नदेखेको काममा खटिएका युवाहरुले बताएका छन् ।
यतैको काम सकेको छैन अर्काको देशमा किन जानु भन्दै प्रतिप्रश्न गर्छन् सन्तोष परियार । दश जनाको टिम बनाएर काम गरे १५ दिनमा एउटा घर तयार हुने कामले देखाएको छ । गोरखा बुंकोटका परियार दाजुभाईको कामबाट सबै भूकम्प प्रभावित गाउँमा मानिसहरुले पाठ सिक्नु जरुरी छ ।