गाेरखा- मानव सेवा आश्रमले आफ्नो पाँचौ शाखा गोरखामा विस्तार गरेको छ । शनिबार एक औपचारिक कार्यक्रम गरी आश्रमका सद्भावना दुत महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चाय तथा आश्रमका संरक्षक डा. गोबिन्द तण्डनले गोरखा नगरपालीका ३ तिनधारेकोमा रहेको आश्रमको उद्घाटन गरेका हुन ।
मकवानपुरको हेटौडामा ०६९ साल भाद्र १३ गते स्थापना भएको मानव सेवा आश्रमले हाल सम्म चितवन, काठमाण्डौ, ललितपुर, गोरखा लगायतका स्थानहरुमा आश्रम सञ्चालन गरेर सेवा दिदै आएको छ ।
समाजमा बिभिन्न परिस्थितिले लाचार र विवश भइ मागेर समेत खान नसक्ने अनाथ, अपांग, असाहय एवं मानसिक सन्तुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठ मन्दिर, पाटी पौवा एवं सार्वजनिक स्थलमा बस्दै आएका व्यक्तिहरुको उद्धार गरि सामान्य जिवनयापन गराउने उद्देश्यले यस संस्थाको स्थापना गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष एवं प्रमुख रामजी अधिकारीले जानकारी दिएका छन् ।
आश्रमले बिगत एक महिना देखि गोरखाका सडकमा वेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्दै आएको छ । आश्रमले हाल सम्म गोरखामा ९ जनाको उद्धार गरेर आश्रममा राखेर संरक्षण दिदै आएको छ ।
सबै क्षेत्रमा रहेका अनाथ बालबालीका, बेवारिसे मानिस तथा दुखी अनाथहरुलाई उद्धार गरी आश्रमले संरक्षण दिने लक्ष्य रहेको आश्रमका प्रमुख अधिकारीले बताएका छन् ।
साथै गोरखाको सडक पेटीमा कष्टकर अवस्थामा जिवनयापन गर्न विवश व्यक्तिहरुको उद्धार, संरक्षण र पारिवारिक पुर्न मिलन गराउदै गोरखालाई १ बर्ष भित्रमा सडक मानव मुक्त बनाउने आश्रमको लक्ष्य रहेको समेत उनले बताए । त्यस्तै ०८२ साल सम्म सिंगो देश नै सडक मानव मुक्त बनाउने आश्रमको लक्ष्य छ ।
कार्यक्रममा आश्रमका अभियान्ताहरुले मानव आश्रमले गर्दै आएको गतिविधि बारे नाटक प्रस्तुत गरेका थिए । साथै गोरखा, काठमाण्डौ, ललितपुर लगायतका जिल्लामा रहेको आश्रममा बिभिन्न तरिकाले सहयोग गर्ने सहयोगदाता तथा सहयोगीहरुलाईै कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
मानव सेवा आश्रमले अब छिट्टै लमजुङ र बाग्लुङमा समेत शाखा बिस्तार गर्ने तयारीमा रहेको आश्रमका प्रमुख अधिकारीले जानकारी दिएका छन् ।