गोरखा– कतिपय परिस्थितिमा हामी बाँचे पनि मरे सरह हुन्छौँ, तर केही मान्छेहरू यस्ता छन्, जो मर्दामर्दै बाँचेर तपाईँ हाम्रा लागि काम गरिरहेका छन् । तिनै मध्येका एक हुन्- सुलिकाेट गाउँपालिकाका विष्णु भट्ट ।
सुलिकोट-५, जफदीमा ०३२ साल साउन १४ गते बाबु दिनानाथ भट्ट र आमा गंगा देवीको कोख बाट जन्मिएका भट्ट लाकुरीबोटमा कम्युनिस्ट आन्दोलन मात्रै सिमिति नभई केन्द्रीय स्वरमासमेत परिचित भइसकेका छन् ।
०४७ सालमा सूर्य ज्योति माध्यमिक विद्यालय ताकुकोटबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्दा १७० जना विद्यार्थीमा प्रथम भएका भट्ट पढाइमा अब्बल थिए । कृषि विज्ञानमा स्नातक समेत गरेका भट्टको ध्यान आफ्नो पढाइमा भन्दा पनि समाजसेवा मा नै थियो । त्यसैले उनले समाजसेवालाई निरन्तरता दिनका लागि सबैभन्दा उत्तम थलोका रूपमा राजनीति देखे ।
विद्यालयको समयमा नै कम्युनिस्ट पार्टीको सदस्यता लिएका भट्ट ०४८ साल देखि ०५० सम्म अखिल क्रान्तिकारी लमजुङ जिल्ला सचिव भएका थिए । ०५२ सालमा माओवादीले महान् जनयुद्धको घोषणा गरेसँगै पूर्णकालीन सदस्यका रूपमा राजनीतिमा होमिएका भट्ट सुरुवाती दिनमा नै प्रहरीद्वारा गिरफ्तार भएका थिए । केही दिनको हिरासतबाट निस्कनै बित्तिकै झनै नयाँ ऊर्जाका साथ माओवादी आन्दोलनमा होमिएर भट्ट देशका विभिन्न कुनाकन्दरामा रहेका जनताहरूसँग सुख-दुखमा साथ दिन थाले ।
महान् जनयुद्धको इतिहास गोरखासँग जसरी जोडिएको छ, सो इतिहासमा भट्ट परिवारको झनै ठुलो इतिहास जोडिएको छ । जनयुद्धका पहिलो सहिद दिल बहादुर रम्तेल सुलिकोटका कै हुन् भने जिल्लाको पहिलो महिला सहिद भट्टकी दिदी कमला भट्ट हुन् । माओवादी पार्टीबाट जनताका लागि लड्दै गर्दा तत्कालीन समयमा राज्यको तर्फबाट क्रूरतापूर्वक उनको दरौँदी नदीमा हत्या गरिए पछिको अवस्थामा शोकलाई शक्तिमा बदल्दै भट्ट झनै पार्टीमा दरिलो रूपमा लाग्न थाले ।
अन्यायमा परेका जनताका लागि अग्रपङ्क्तिमा रहेर लड्ने भट्ट सोही क्रममा बागलुङमा २०५७ साल माघ २ गते पक्राउ परेर। तर, आफ्नो सिद्धान्तमा कहिल्यै विचलन नल्याउने भट्टलाई राज्यले ०६१ साल पुस ९ गते बाध्य भएर थुनामुक्त ग¥यो । जनयुद्धमा सक्रियता पूर्वक लागिरहेकी भट्टकी बहिनी विमला सोही वर्ष आफ्नो बा-आमालाई भेट्नका लागि गाउँ पुगेका बखत सुराकीका कारण सेनाद्वारा लाकुरीबोट भवनमा ज्यान गुमाउन पुगिन् ।
परिवारको २ सदस्यलाई जनयुद्ध कै क्रममा गुमाउन पुगेका भट्ट आफू पनि धेरै पटक सेना र प्रहरीको हातबाट मृत्युको मुखमा पुगेर फर्किएका हुन् । जनयुद्ध र दोस्रो जनआन्दोलनको जगमा देशमा शान्ति स्थापना भएसँगै खुल्ला राजनीतिमा आइपुगेका भट्ट गोरखा क्षेत्र नं. ३ को इन्चार्ज हुँदै जिल्ला उपाध्यक्ष भइसकेका छन् ।
सदैव जनताका लागि खटिने भट्ट अहिले सुलिकोट गाउँपालिकाको अध्यक्षका रूपमा उम्मेदवार रहेका छन् । हरेका विकासका पछाडि भट्टको नाम रहेको कुरा सम्पूर्ण जनतामा त घाम जत्तिकै छर्लङ्ग छ नै विपक्षीहरू समेत भट्टको कार्यकुशलता देखेर इष्र्याका साथ स्वीकार गर्छन् ।
विशेष गरी सोही क्षेत्रका सडक, बिजुली बत्ती, विद्यालय भवन, खेलकुद मैदान, स्वास्थ्य चौकी जस्ता जनताले प्रत्यक्ष सरोकार राख्ने निकायमा भएको विकासमा भट्टले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । भट्ट भन्छन्, ‘आफू सरकारको आधिकारिक निकायमा नरहेता पनि आफूले पहल गरेर हुने ठाउँमा मैले ज्यानको बाजी राखेर ३ नं. क्षेत्रका लागि विकासको काम गरेको छु । हिजो जनयुद्ध मै पटक-पटक मरेको मान्छे मलाई काम गर्दा गर्दै मरिन्छ भन्ने कुनै डर तथा फिक्री नै छैन ।’
जनयुद्धमा २ दिदीबहिनी गुमाएका भट्टले आफ्नो ऊर्जाशील समय पनि पार्टी र जनता कै लागि बिताएका छन् । संगैका साथीहरू पिएचडी गरेर अमेरिकाबाट फर्कँदा पनि आफूले बिचैमा पढाइ छाडेर राजनीतिमा लागेकोमा भट्टलाई कुनै पछुतो छैन । राजनीतिमा लाग्ने आफ्नो निर्णय प्रति गर्व गर्दै भट्ट भन्छन्- ‘मेरा साथीहरूले पढेर आफ्नो भविष्य उज्ज्वल बनाए, मैले लडेर गाउँले दाजुभाइ, दिदीबहिनी, देश र जनताको भविष्य बनाउन कोसिस गरेँ । यसमा मलाई कुनै दुःख मनाउ छैन ।’
अहिले माओवादीको तर्फबाट सुलिकोटको अध्यक्षको रूपमा निर्वाचनमा भाग लिएका भट्ट जनतासँग भोट माग्दै उकाली ओरालीका साथ उत्तरी बारपाक देखि स्वाँरा सौरपानी, उल्टे, भालुस्वाँरा देखि पन्द्रुङ देउराली, बालुवा छेउसम्म पुगिरहेका छन् । आफ्नो दिदीहरूको मात्र होइन, देशभरका १७ हजार भन्दा बढी सहिदहरूको रगतले आर्जिएको संघीयता, गणतन्त्र र संविधान तथा सोही संविधानको कार्यान्वयनका साथ सिंहदरबारलाई गाउँ नगर अनि घर-घरमा पुगिरहेका छन् उनी ।