गोरखा– नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराईले निषेधको जोडफलका कारण वाम गठबन्धनबाट बाहिरिएको बताएका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले सोमबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी वाम गठबन्धनबाट बाहिरिनुको कारण बताए।
‘गोरखा २ मेरो जन्मथलो र कर्मथलो हो, म यहाँबाट चुनावमा उठ्नु स्वभाविक हो,’ उनले थपे, ‘गोरखा २ बाट चुनाव लड्न पाउँदैनस् भनेर वाम गठबन्धनमा झमेला झिकियो। यस्तै निषेधको जोडफलका कारण वाम गठबन्धनमा रहन सकिएन।’
नेपाली कांग्रेससँग आफ्नो पार्टीले चुनावी तालमेल मात्र गरेको जिकिर गर्दै भट्टराईले भने, ‘राजनीतिक स्थिरिताका लागि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग सहकार्य गरी अगाडि बढ्नुपरेको हो।’
उनले चुनावपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नहुने समेत दाबी गरे। ‘सत्ता स्वार्थका लागि तालमेल भएको हो, चुनाव सकेपछि एमाले र माओवादी आफ्नो–आफ्नो बाटो लाग्छन्।’
वामपन्थीहरु रुपान्तरण भएर समाजवादी शक्ति बन्नुपर्ने उनले भनाइ थियो। उनले सामाजिक सञ्जालमा आफूप्रति भ्रम फैलिएको गुनासो गरे। भने, ‘मैले कांग्रेसको जरै उखेलेर फाल्नुपर्छ भनेर कहिल्यै भनेको छैन। सपनामा पनि बर्बराउने बानी छैन, तर सामाजिक सञ्जालमा बोल्दै नबोलको कुरामा भ्रम छरियो।’
भट्टराईले गोरखाको विकास मोडेल आफूले तयार पारेको दाबी गर्दै भने, ‘बाँकी काम आफैं पूरा गर्नका लागि पनि चुनावी मैदानमा उत्रिएको हुँ। गोरखा–२ का जनताले आफूलाई प्रधानमन्त्री र अर्थमन्त्रीहुँदा ठूलो सहयोग गरेकाले अबको चुनावमा पनि सहयोग गर्ने आशा व्यक्त गरे।’