गोरखा- गोरखामा २ सय १३ मतदानस्थलमध्ये जिल्लाका ६८ वटा मतदानस्थललाई अतिसंवेदनशील मानिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
चुनावलाई लक्षित गरी बनाइएको केन्द्रीय सुरक्षा योजनामा पहिलो चरणमा चुनाव हुने क्षेत्रमध्ये गोरखालाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो।
जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको हो।
यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दिएका छन्। बैसाखमा सम्पन्न स्थानीय तहको चुनावमा पनि गोरखा अति संवेदनशीलको सूचीमा परेको थियो।
चुनाव प्रचारको क्रममा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धा, दुई केन्द्रीय नेताको सुरक्षा लगायतका हिसाबले त्यो क्षेत्रलाई अति संवेदनशील मानिएको बस्नेतले बताए। ६८ अति संवेदनशील मतदानस्थलमध्ये धेरै २ नम्बर निर्वाचन क्षेत्रमा नै रहेका छन्।
जिल्ला सुरक्षा समितिले १ सय ३३ मतदानस्थललाई संवेदनशील र बाँकी १२ वटालाई सामान्य मानेको छ।
विगतका चुनावमा भएका घटना, भौगोलिक बनावट, चुनाव प्रचारका क्रममा हुन सक्ने झडप, संविधान संघीयता र चुनाव विरोधी समूहको गतिविधि लगायतका आधारमा मतदान स्थलहरुको सुरक्षा विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।
‘हामीले सो क्षेत्रमा सशस्त्रको अस्थायी बेसक्याम्प राख्नुपर्छ भनेर लेखिपठाएका छौं, सायद केन्द्रले सोही अनुसार गर्छ होला,’ प्रजिअ बस्नेतले भने। बाहिरबाट हुन सक्ने घुसपैठ रोक्न जिल्ला प्रवेशका नाकाहरुमा पनि कडाइ गरिने बस्नेतको भनाइ छ।
दुई जना राष्ट्रिय स्तरका नेताको सुरक्षा र चुनावको समयमा हुन सक्ने अप्रिय घटनाका कारण गोरखा २ लाई वेशेष रुपमा हेरिएको छ। यहाँबाट वामपन्थी गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट भट्टराई प्रतिस्पर्धा गर्दैछन्।