गोरखा– आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। बुधवारबाट गोरखाका सबै नाकामा चौबीसै घण्टा चेकजाँच थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा ‘हेभीवेट’ नेताहरू प्रतिस्पर्धा गर्दैछन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबिच प्रतिस्पर्धा हुने भएपछि सबैको ध्यान मोडिएको छ।
श्रेष्ठ वाम गठबन्धनबाट र भट्टराई कांग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उठेका हुन्। उनीहरूकै कारण पनि जिल्लामा सुरक्षा संवेदनशीलता बढी रहेको डिएसपी भेषराज रिजालले बताए।
‘चुनावको समयमा नाकाबाट हातहतियार भित्रन सक्ने सम्भावना रहन्छ,’ डिएसपी रिजालले भने, ‘फेरि अवैध वस्तुसँगै लागु औषध पनि ओसारपसार हुन सक्ने भएकाले चौबीसै घण्टा चेकजाँच थालिएको हो।’
अन्य जिल्लाबाट गोरखा भित्रने मझुवा, नयाँ पुल, आरुघाट, ठाटीपोखरी, बेनीघाट लगायत सबै नाकामा चेकजाँच गरिने प्रहरी कार्यालयले जनाएको छ।
सुरक्षा बेसक्याम्प स्थापना
सुरक्षा व्यवस्था सुदृढ बनाउन गोरखाको क्षेत्र नं २ स्थित पालुङटारमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसक्याम्प राखिएको छ। पोखराबाट आएको क्षेत्रीय सुरक्षा समितिको निर्णय अनुसार बुधवारदेखि नै पालुङ टारमा सुरक्षा बेस राखिन लागिएको जिल्ला सुरक्षा समितिका संयोजक प्रजिअ जितेन्द्र बस्नेतले जानकारी दिए।
केन्द्रीय सुरक्षा योजनामा पहिलो चरणमा चुनाव हुने क्षेत्रमध्ये गोरखाका ६८ वटा मतदान स्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील क्षेत्रको रूपमा राखेको छ। क्षेत्रीय सुरक्षा समितिका संयोजक तथा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल नेतृत्वको टोलीले जिल्लाको सुरक्षा अवस्थाको जानकारी लिइसकेको छ।
समितिसँग प्रजिअ बस्नेतले निर्वाचन सामग्रीको सुरक्षित ढुवानीका लागि हेलिकोप्टरबाट ढुवानी प्रबन्ध मिलाउन आग्रह गरेका छन्। गोरखाको दुर्गमका साबिकका करिब १४ गाविसमा सडक सञ्जालले जोडिएका छैनन्। चुमनुब्री गाउँपालिकाका ७ र धार्चे गाउँपालिकाका साबिकका ४ गाविसमा सडक सञ्जाल छैन। गुम्दा, लाप्राक जस्ता गाविसमा सडक पुगे पनि बर्खामा बिग्रिएकाले अझै सहज रूपमा गाडी चल्न सकेका छैनन्।
६८ मतदानस्थल अति संवेदनशील
गोरखामा २ सय १३ मतदानस्थलमध्ये जिल्लाका ६८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। चुनावलाई लक्षित गरी बनाइएको केन्द्रीय सुरक्षा योजनामा पहिलो चरणमा चुनाव हुने क्षेत्रमध्ये गोरखालाई अति संवेदनशीलको सूचीमा राखिएको हो।
जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको हो।
चुनाव प्रचारको क्रममा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धा, दुई केन्द्रीय नेताको सुरक्षा लगायतका हिसाबले त्यो क्षेत्रलाई अति संवेदनशील मानिएको बस्नेतले बताए। ६८ अति संवेदनशील मतदानस्थलमध्ये धेरै २ नम्बर निर्वाचन क्षेत्रमा नै रहेका छन्।
जिल्ला सुरक्षा समितिले १ सय ३३ मतदानस्थललाई संवेदनशील र बाँकी १२ वटालाई सामान्य मानेको छ। विगतका चुनावमा भएका घटना, भौगोलिक बनावट, चुनाव प्रचारका क्रममा हुन सक्ने झडप, संविधान संघीयता र चुनाव विरोधी समूहको गतिविधि लगायतका आधारमा मतदान स्थलहरूको सुरक्षा विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।