गोरखा– नयाँ शक्ति पार्टीका नेता तथा प्रतिनिधिसभा क्षेत्र न २ का उम्मेदवार डा बावुराम भट्टराईले नारायणकाजी श्रेष्ठ माओवादी नै नभएको आरोप लागाएका छन्।
गोरखाको सुलीकोट गाउँपालिका–१ बारपाकमा चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘श्रेष्ठ माओवादीमा कहिले आउनु भयो? वहाँ जनयुद्वको प्रक्रियामै हुनुहुन्थेन, उहाँ त माओवादी नै होइन। त्यसैले बाहिरको साथी किन अहिले खोल ओडेर आइरहनु भएको छ। मैले बुझेको छैन।’
भट्टराईले सहिद परिवारलाई धोका दिएको, अपमानित गरेको भन्ने आफूमाथि लागेको आरोप सरासर गलत भएको बताएका छन्।
उनले भने, ‘सहिदको पहिलो सपना राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्याउने थियोे, त्यो सपना पूरा भइसकेको छ। अर्को सपना विकास र समृद्वि हो । गरिब र बेरोजगारी अन्त्य गरेर युवालाई रोजगारी दिने र हरेक नागरिक सम्मानपूर्वक बाँच्ने सहिदहरुको सपनाकै लागि म निरन्तर जुटिरहेकै छु।’
उनले सहिद परिवारका सदस्यहरु अहिले आफूसँग रहेको दाबी गर्दै भट्टराईले भने, ‘बाबुरामले सहिदको अपमान गर्यो भनी विपक्षीले प्रचारका लागि उचालेको कुरा हो।’ उनले विगतका कमीकमजोरीलाई प्रचारको साम्रगी नबनाउन र व्यक्तिगत दुस्मनी र निषेधको व्यवहार नगर्न अन्य दललाई आग्रह पनि गरे।
उनले माओवादी मन्त्रीहरुले जनताको करको भत्ता खाएर बिनाकाम सरकारमा बसिरहेको आरोप लगाए। नेपाली कांग्रेस र नयाँ शक्तिको प्रचार–प्रचार समितिको आयोजनामा सम्पन्न चुनावीसभामा डा भट्टराईले २०७२ सालको भुकम्पको केन्द्रबिन्दु बारपाकलाई अन्तर्राष्ट्रिय भुकम्प स्मृति पार्क बनाएर पर्यटकीय स्थल निर्माण गर्न सहयोग गर्ने आश्वासन दिए।