गोरखा- तीन ठाउँबाट तीन मतपत्र लिएर तीनवटै मतपेटिकामा खसाल्न गाह्रो भएपछि कर्मचारीले मतदातालाई सहयोग गरे। कतिपय मतदाता मतपत्रबारे नै अन्योलमा थिए भने कतिलाई कुन मतपेटिकामा खसाल्ने भन्ने द्विविधा देखिन्थ्यो।
मतदानस्थल सशस्त्र प्रहरीले घेरा हालेको थियो। नेपाल प्रहरी र म्यादी प्रहरी मतदानस्थलभित्र पहरा दिइरहेका थिए। मतदान कार्यक्रम हेरिसकेपछि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश वसन्तराज पौडेलले नमुना मतदान कार्यक्रम सफल भएको बताए।
आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी गोरखा क्याम्पसमा यसरी शुक्रबार नमुना मतदान गरिएको हो। सो क्रममा एक सय जनाभन्दा बढीले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए। आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको उनले बताए।
कार्यक्रमस्थलमा मतदान अधिकृत, अन्य निर्वाचन कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पत्रकारहरु सहभागी थिए। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश वसन्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, एसपी प्रकाश अधिकारी, प्रमुख अनुसन्धान अधिकृत रजनी घिमिरेसमेत सो बुथ पुगेका थिए।
‘कसरी मतदा नकेन्द्र तयार गर्नुपर्छ, सुरक्षाकर्मीले कसरी मतकेन्द्रलाई सुरक्षा दिनुपर्छ, वृद्धवृद्धा, अपांगहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर राम्रै तालिम दिएका छौं,’ मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले भने, ‘कहाँ के भैपरी आउँछ, त्यो बेला कसरी सहजीकरण गर्ने भन्नेबारे सबै पक्षजानकार भएपछि यसरी नै निर्वाचन पनि पूर्ण सफल हुने विश्वास लिएका छौं।’