गोरखा– निर्वाचन प्रसारप्रचारका लागि गोरखा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईं हेलिकोप्टर चार्टर गरी उत्तरी गोरखाको समागाउँ पुगेका छन्।
विवादित छविका बजगाईं २ वटा हेलिकोप्टर चार्टर गरी समागाउँ पुगेका हुन्। उनी सोमबार बिहान करिब ९ बजे समागाउँ पुगेका थिए।
निर्वाचन आचारसंहिता विपरीत बजगाईंले हेलिकोप्टर चार्टर गरेर चुनाव प्रचार गरेको भन्दै वाम गठबन्धनले मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा उजुरी दिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले माओवादी केन्द्र र नेकपा एमालेको उजुरीका आधारमा बजगाईं र घलेले हेलिकोप्टर प्रयोग गरी समागाउँ पुगेको प्रमाण पेश गर्न वाम गठबन्धनलाई पत्र काटेको छ।
कार्यालयका निवार्चन अनुगमन अधिकृत डिल्लीप्रसाद श्रेष्ठले हस्ताक्षर गरी वाम गठबन्धनका दुवै दल एमाले र माओवादी केन्द्रलाई प्रमाण पेश गर्न पत्र पठाएका हुन्।
कांग्रेसभित्रै बिचौलिया भनेर चिनिएका बजगाईंसँगै समानुपातिक सूचीमा परेका कांग्रेस गोरखाका जिल्ला सभापति हरीबाहदुर घले, चुम्नुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ र जिल्ला समन्वय समितिका सदस्य छ्याव घ्याल्जेन लामासहितको ७ जनाको टोली हेलिकोप्टर चढेर समागाउँ पुगेको थियो।
उत्तरी क्षेत्रका चुम्नुब्री, धार्चे, आरूघाट र भिमसेन गाउँपालिका गोरखा क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा पर्छन्। गोरखा निर्वाचन कार्यालयका एक कर्मचारीले उत्तरी क्षेत्रमा हिँडेर जान मुस्किल पर्ने भएकाले निर्वाचन आयोगसँग अनुमति मागेरै हेलिकोप्टर प्रयोग गरेको हुन सक्ने बताए।
कांग्रेस निकट एक नेताले पनि बजगाईंले निर्वाचन आयोगसँग अनुमति मागेर हेलिकोप्टरमा समागाउँ पुगेको दाबी गरे। तर, जिल्ला निर्वाचन कार्यालय गोरखाका निर्वाचन अधिकृत नारायण सापकोटाकाले भने आफूहरुसँग यसबारे कुनै जानकारी रहनेको बताएका छन्।
‘मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखासँग अहिलेसम्म हेलिकोप्टर चार्टर गरिएको बारे कुनै जानकारी प्राप्त भएको छैन,’ सापकोटाले भने।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले उम्मेदवारले हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था भए पनि कस–कसले कुन आधारमा अनुमति मागेका छन् त्यसबारे अध्ययन गरेर मात्र आचारसंहिता उल्लंघन भए/नभएको पुष्टि गर्न सकिने बताए।
गोरखाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलका अनुसार कुनै पनि राजनीतिक दलले हेलिकोप्टर प्रयोग गर्दा जिल्ला सुरक्षा समितिलाई पनि जानकारी गराउनुपर्छ।