गोरखा– माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले डा बाबुराम भट्टराईसँग कुनै विचार र सिद्धान्त नभएकाले मत नदिन आग्रह गरेका छन्।
गोरखा–२ मा वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले बारपाकमा आयोजित चुनावी सभामा बोल्दै माओवादी हुँदै नेपाली कांग्रेस निकट पुगेका भट्टराई अब खोक्रो भएको आरोप लगाए।
‘बाबुरामसँग कुन विचारको कुरा गर्ने? माओवादी, संघीय समाजवादी, नयाँ शक्ति कि नेपाली कांग्रेस? पहिला प्रस्ट हुनुपर्छ,’ कांग्रेस मतदातालाई फकाउँदै श्रेष्ठले भने, ‘नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार नभएकाले मलाई मत दिन आग्रह गर्छु।’
श्रेष्ठले कांग्रेसको उम्मेदवार नभएकाले आफू सबैको साझा उम्मेदवार भएको दाबी गरे।
‘संविधान कार्यान्वयनका लागि वाम गठवन्धनले जित्नुपर्छ। बाबुराम भट्टराई आफ्नो प्रतिस्पर्धी भए पनि यस पटक उहाँ योग्य उम्मेदवार होइन।’ श्रेष्ठले थपे, ‘कुनै दिनमा बाबुराम र म सहयात्री थियौं । तर, उहाँ अवसरवादी हुँदा पछाडि पर्नुभयो। त्यसैले काम गर्ने व्यक्तिलाई जिताउन जरुरी छ।’
नयाँ संविधान कार्यान्वयन गर्ने दायित्व पूरा गराउन जिम्मेवार व्यक्तिलाई जिताउनुपर्र्ने श्रेष्ठले बताए।
‘तपाईंले जित्नु हुन्छ भनेर मलाई सोध्छन्, म भन्छु– यहाँ नजित्ने भएको भए मलाई पार्टीले अन्य ठाउँ लैजान्थ्यो होला,’ श्रेष्ठले बाबुरामलाई लक्ष गर्दै भने, ‘बाबुराम लड्ने भए पनि यहाँ किन आएको हो भन्नेमा हामी प्रस्ट छौं।’
दुई क्षेत्र रहेको गोरखामा प्रतिनिधिसभामा नेपाली कांग्रेस र नयाँशक्तिले तालमेल गरेको छ।
गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट चिनकाजी श्रेष्ठ र वाम गठबन्धनका तर्फबाट हरिराज अधिकारी उम्मेदवार छन्। पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने गोरखामा हेभिवेट उम्मेदवार प्रतिस्पर्धामा रहेकाले चर्चामा छ।