गोरखा- गोरखा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता हरि अधिकारीले वाम गठबन्धनको जितले मात्र गोरखाको समग्र विकास सम्भव भएको बताएका छन् ।
गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ ध्यालचोकमा भएको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले यसअघिका संसदीय निर्वाचनमा कांग्रेसका उम्मेदवारले जितेर पनि बिकास निर्माणमा शून्य प्रगति भएकोमा कटाक्ष गरे ।
उनले भने, ‘नेपाली कांग्रेसको भर परेर गोरखाली जनताले धेरै दुःख भोग्यौं, विगतका निर्वाचनबाट हामिले त्यो पाठ सिकौँ, अब देशको बिकास गर्न वाम गठबन्धनले जितेमा मात्र देशको र समग्र गोरखाको बिकास हुन्छ ।’
२०४८ र २०५६ सालको आम निर्वाचनबाट निर्वाचित सांसदहरुले गोरखालाई के योगदान दिए ? उनले थपे, २०६४ सालपछि गोखरामा विकासको अभियान त सुरु भयो, तर पर्याप्त भएन, जनताले अनुभूति गर्ने गरी वाम गठबन्धनले मात्र गोरखाको बिकास गर्न सक्छ ।’
डाक्टर बाबुराम भट्टराई सन्की नेता भएको टिप्पणी गर्दै उनले भने, ‘२०७० को चुनावमा हामीले उहाँलाई जितायौं तर, उहाँले सनकको भरमा पार्टी छाड्नुभयो, जनतालाई धोका दिनुभयो ।’
वाम गठबन्धनतर्फ संकेत गर्दै उनले भने ‘हामी एक भएका छौं, हिजोको अवस्थामा छैनौं, चुनाव लगत्तै कम्युनिष्ट मोर्चा तयार गरी पार्टी एकता हुनेछ ।’
उनले प्रदेश नम्बर ४ मा पनि वाम गठबन्धनको बहुमत हुने भन्दै बहुमतको वाम सरकारले यस क्षेत्रको तीव्र र दिगो बिकास गर्ने दाबी गरे । गोरखा क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट अधिकारी र नेपाली कांग्रेसबाट चीनकाजी श्रेष्ठ प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।
प्रदेशतर्फ क्षेत्र नम्बर १ को ‘क’ मा वाम गठबन्धनबाट माअोवादी केन्द्रका लेखबहादुर थापा र नेपाली कांग्रेसबाट धिरन थापाबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश ‘ख’ मा वाम गठबन्धनबाट एमालेका रामशरण बस्नेत र कांग्रेसबाट राजेन्द्र बजगाईं उम्मेदवार छन् ।