गोरखा– निर्वाचन आचार संहिताको धज्जी उडाउँदै नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा ‘ख’का उम्मेदवार राजेन्द्र बजगाईँ हेलिकप्टर चार्टर गरी उत्तरी गोरखा पुगेका छन् ।
बजगाईँ सहित नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र समानुपातिक उम्मेदवार तथा जिल्ला सभापति हरिबहादुर घले उत्तरी गोरखाको काशिगाउमा पुगेका हुन् ।
उनीहरू करिब १२ बजेतिर काशिगाउ पुगेका थिए । ‘उहाँहरू केही समय अघि यहाँ एक कार्यक्रम गर्नुभएको थियो । केही समय प्रचारप्रसार तथा घरदैलो गरेपछि यहाँबाट जानु भयो’, एक स्थानीयले भने ।
टुरिस्ट उम्मेदवार भनेर चिनिएका बिवावदस्पद छविका बजगाईँ केही समय अघि पनि उत्तरी गोरखाका केही स्थानमा चुनावी प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गरेका थिए । त्यस बेला उनले लिफ्ट मागेको प्रतिक्रिया दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले यसको पुष्टि गर्दै मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले भने- ‘उत्तरी गोरखाका केही स्थानमा उहाँहरू जानू भएको छ भन्ने मौखिक सूचना आएको छ । हामी यसको थप अनुसन्धान गरी रहेका छौ ।’
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अहिलेसम्म कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए । ‘हामीले अहिलेसम्म कुनै जानकारी पाएका छैनौ’, उनले भने । उता, यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।
निर्वाचन अचांरसहितामा कहीँ कतै जानू परे जिल्ला सुरक्षा समितिलाई जानकारी गराउनु पर्ने नियम छ तर बजगाईँले निर्वाचनको आचारसंहिता पालना नगरेको जिल्लाका एक सुरक्षा समितिका सदस्यले बताए। यसबारे बजगाईँसँग बुझ्न खोज्दा उनले कुरा गर्न चाहेन । बजगाईँले बाम गठबन्धनका उम्मेदवार रामशरण बस्नेतसँग प्रतिस्पर्धा गर्नु पर्ने छ ।